प्रभास र श्रद्धा कपुर अभिनित फिल्म ‘साहो’ लाई चोरीको बात लागेको छ । फिल्मले उत्कृष्ट समीक्षा नपाए पनि यसले बक्स अफिसमा भने धमाल मच्चाइरहेको छ ।
पहिलो विकेन्डमै फिल्मले उत्कृष्ट आम्दानी गरेको छ । यसको हिन्दी संस्करणले अघिल्ला ४ दिनमा ९३ करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ ।
केही समय अघिमात्र ‘साहो’ लाई अभिनेत्री लिजा रेले आर्ट वर्क चोरीको आरोप लगाएकी थिइन् । अहिले भने फ्रेन्च निर्देशक जेरोमी सल्लेले साहोका निर्माता-निर्देशकले आफ्नो फिल्मको नक्कल गरेको आरोप लगाएका छन् । ‘भारतको साहो भन्ने फिल्ममा लार्गो विन्च शीर्षकको मेरो फिल्मको नक्कल गरिएको छ,’ उनले ट्विटरमा भनेका छन् ।
फिल्म हेरेपछि थुप्रै दर्शकहरुले निर्देशक सल्लेलाई ट्वीटमार्फत ‘साहो’ र उनको फिल्मबीच थुप्रै समानता भएको बताएका थिए । उक्त कुरा सुनेपछि हालै मात्र फ्रेन्च निर्देशकको प्रतिक्रिया आएको हो । लार्गो विन्चका निर्देशकले ट्वीट गर्दै भनेका छन्, ‘यस्तो लाग्दैछ, निःशुल्क बनाइएको लार्गो विन्चको दोस्रो फिल्म पहिलो जत्तिकै खराब छ । त्यसैले कृपया तेलुगु निर्देशकहरु, यदि तपाईंहरु मेरो काम नक्कल गरिरहनु भएको छ भने कम्तिमा त्यसलाई ढंग पुर्याएर त गर्नू ?’