लोकप्रिय अमेरिकी गायिका तथा नायिका सेलेना गोमेजले सामाजिक सञ्जाल युवाका लागि खतरनाक हुने भन्दै त्यसको समयसीमा तोक्न आग्रह गरेकी छिन् । आफ्नो नयाँ चलचित्र ‘द डेड डोन्ट डाई’ को प्रचारप्रसारको क्रममा फ्रान्समा जारी क्यान्स् फिल्म फेस्टिबल–२०१९ मा सहभागी २६ वर्षीया सेलेनाले खासगरी युवा पुस्ता महत्वपूर्ण घटना र समाचारका बारेमा बेखवर रहेको बताइन् ।
यो उपयोगी मञ्च हो तर केटाकेटीहरु विश्वमा के भइरहेको छ भन्ने विषयमा ध्यान नदिई खाली समय मात्र बर्बाद गरेको देख्दा मलाई डर लाग्छ’ उनले भनिन्,‘यो स्वार्थी काम मात्र होइन खतरनाक पनि हो ।’ त्यसैकारण उनी सामाजिक सञ्जालबाट लामै समय अलग रहिन् ।
पछिल्लो सयम इन्स्टा र ट्वीटरमा तस्विर र सन्देश पोष्ट गरेपनि त्यसलाई सृजनात्मक तवरमा मात्र प्रयोग गरेको उनले दाबी गरिन् । उनले भनिन्, ‘म चर्चित हुनका लागि बेतुकका तस्विर पोष्ट गर्दिन ।’ खासगरी युवतीहरु विभिन्न खाले अनलाईन यातनाको सिकार भएको भन्दै के र कसरी अनि कति प्रयोग गर्ने सम्बन्धमा सीमा तोक्न सेलेनाले आग्रह गरिन् । अहिले डेढ करोड इन्स्टाग्राम समर्थक रहेकी सेलेना सबैभन्दा बढी फलो गरिने सेलिब्रेटीको सूचीमा दोस्रो नम्बरमा छिन् । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो यो सूचीमा पहिलो नम्बरमा छन् ।