आगे प्यारा सन्ततिहरु
स-साना रुमालहरु जोडेर
एक थान नेपाल बनाएको थिएँ
त्यसलाई कस्तो छ अहिले ?
सन्चो छैन सुनिरहेछु
देशलाई कस्तो छ अहिले ?
यता आएका आत्माहरु
खासखुस गर्दै थिए
कालगतिले मर्न पनि पाइएन
मर्ने बेलामा
आमाको मुख हेर्न पनि पाइएन
स्वास्नीको दु:ख हेर्न पनी पाइएन ।
कस्तो अनर्थ सुनिरहेछु
सुनेपछि मनमनै गुनिरहेछु
म एउटा घर
बनाउँदाबनाउँदै मरे
तिमिहरु त्यो घर
भत्काउँदाभत्काउँदै मरिरहेछौ ।
फेरि एउटा दिव्योपदेश सुन
नेपाल छ, र तिमीले
बेवारिसे खाते हुनु परेन
एक मुठी माटोका लागि
कहिल्यै रुनु परेन
आफ्नो माटोलाइ माया गर ।
ठूला दु:खले आर्जेको
एउटा सानो घर थियो
त्यो घरमा तिमिहरुले
आगो झोस्यौ कि क्या हो ?
अन्तत आफ्नै अनुहारमा
अगुल्टो ठोस्यौ कि क्या हो ?
आमाहरु सन्तान सिर्जना गर्छन्
तर म
आमा सिर्जना गर्ने सन्तान
तिमी नै भन त
ती आमा बिरामी हुँदा
मलाई कति चोट परेको होला !
मेरा प्यारा नेपालीहरु !
तिमीले दिएको तर्पण पाइरहेछु
तिम्रो गुणगान गाइरहेछु
तर मलाईजस्तै देशलाई पनि
तर्पण र अर्पण गर्ने कर्म
कदापि नगर्नू है !
देश युद्धबन्दी भएको
अशुभ सपना देखिरहेछु,
प्यारा देशवासीलाई
एउटा अर्जी लेखिरहेछु
बन्द गर आत्माघाती लडाइँ
र, बहाली गर हर्षबढाइँ ।
#चेतना_भया