युरोकप फुटबलको छनौट चरण अन्तर्गत सोमबार राति भएको खेलमा पोर्चुगल पराजित भएको छ।
समूह बी अन्तर्गत भएको खेलमा साबिक विजेता पोर्चुगल युक्रेनसँग २-१ ले पराजित भएको हो। घरेलु मैदानमा भएको खेलमा युक्रेनले पहिलो हाफमा नै दुई गोलको अग्रता लियो।
उसका लागि यारिम्चुकले छैटौँ तथा यार्मो्लिन्कोले २७ औँ मिनेटमा गोल गरे। त्यसपछि २-० ले पछि परेको पोर्चुगलले दोस्रो हाफमा पेनाल्टी पायो। ७२ औँ मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गरे। याेसँगै राेनाल्डाकाे ७ सय गाेल पनि पुरा भएकाे छ।
७२ औँ मिनेटमै दोहोरो पहेँलो कार्ड खाँदै स्पटेपानेन्को बाहिरिएपछि युक्रेन १० खेलाडीमा सीमित भयो। पोर्चुगललाई पराजित गरेको युक्रेन समूह बी बाट छनौट हुने पक्का भएको छ। उसले सन् २०२० मा हुने युरोकप फुटबलमा स्थान बनाएको छ।
युक्रेनको सात खेलबाट १९ अंक भएको छ। ६ खेलबाट ११ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ। अर्को खेलमा लिथुवानियालाई २–१ ले पराजित गरेको सर्बिया ६ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ।