सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको आधिकारिक प्रतीक चिह्न (लोगो) सार्वजनिक भएको छ ।
कतारका चर्चित भवनहरु बुर्ज दोहा, कतार कल्चरल भिलेज एम्पिथिएटर, सोक बाकिफ र अल जुबराह फोर्टमा एकैपटक प्रोजेक्ट गरी स्थानीय समयअनुसार गएराति ८:२२ मा लोगो सार्वजनिक गरिएको थियो ।
लोगो कतारसँगै विश्वका २४ प्रमुख सहरमा सोही समयमा सार्वजनिक गरिएको थियो । लोगोको घुमाउरो वक्रले मरुभूमिको ‘डुन (बालुवाको ठुल्ठूला थुम्का)’ लाई प्रतिविम्बित गर्छ ।
त्यस्तै कतै पनि नटुटेको फित्ताजस्तो आक्रिति अंग्रेजीको 8 अंकजस्तो र गणितमा असंख्य जनाउने चिह्नजस्तो पनि देखिन्छ । 8 ले कतार विश्वकपमा खेलहरु सञ्चालन हुने ८ वटा रंगशालालाई प्रतिविम्बित गर्छ । यस्तै असंख्य आकृतिले प्रतियोगिताले असंख्य मानिसलाई खेलमार्फत जोड्नेतर्फ संकेत गर्छ ।
सन् २०२२ मा हुन लागेको फुटबल विश्वकपको २२औं सस्करण पहिलोपटक अरब प्रायद्वीपमा हुँदैछ । खेल २०२२ नोभेम्बर २१ मा सुरु भई फाइनल खेल डिसेम्बर १८ मा समापन हुनेछ । स्मरणीय यो छ कि डिसेम्बर १८ कतारको राष्ट्रिय दिवस पनि हो ।