अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्ध लागेको छ। दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलबाट तीन महिनाको प्रतिबन्ध लगाएको हो। तर उनले क्लब फुटबललाई भने निरन्तरता दिन पाउने छन्।
कोपा अमेरिकी फुटबलमा भ्रष्टाचार रहेको आरोप लगाएपछि मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाइएको हो।
३२ बर्षका अर्जेन्टिनी फरवार्डले तेस्रो स्थानका लागि भएको चिलीविरुद्वको खेलमा ब्राजिललाई उपाधि जिताउन मिलोमतो गरिएको गम्भीर आरोप लगाएका थिए।उनले दक्षिण अमेरिकी फुटबलमा चरम भ्रष्टचार हुने गरेको आरोप लगाउँदै पदक लिनसमेत अस्वीकार गरेका थिए।
तेस्रो स्थानका लागि भएको प्लेअफमा मेस्सी रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। सो खेल अर्जेन्टिनाले २–१ ले जितेको थियो। महासंघले मेस्सीलाई तीन महिनाको प्रतिबन्धसँगै ५० हजार अमेरिकी डलर जरिवानासमेत गरेको छ।महासंघले गरेको निर्णयविरुद्ध मेसीलाई पुनरावलोकनका लागि ७ दिनको समय दिइएको छ। प्रतिबन्धसँगै मेसीले आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेल गुमाउने छन्।