भारतले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गर्दै भारतले सुखद सुरुआत गरेको हो।
साउथह्याम्पटनमा दक्षिण अफ्रीकाले दिएको २२८ रनको मध्यम लक्ष्य भारतले ४७ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो। भारतको जितमा रोहित शर्माले शतकीय पारी खेले। नट आउट रहेका रोहितले १४४ बलमा १३ चौका र २ छक्कासहित १२२ रनको योगदान गरे। योसंगै रोहितले आफ्नो व्यक्तिगत २३ औं एकदिवसीय शतक पनि पुरा गरे।
यस्तै महेन्द्र सिंह धोनीले ३४ रन जोड्दा लोकेश राहुलले २६ रन बनाए। कप्तान विराट कोहली १८ रनमा आउट हुँदा शिखर धवन ८ रनमा पेभेलियन फर्किए। हार्दिक पाण्डयले अविजित १५ रन बनाए। दक्षिण अफ्रीकाका कागीसो राबडाले २ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२७ रन बनाएको थियो।
दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले सर्वाधिक ४२ रनको योगदान गरे। यस्तै कप्तान फाफ डु प्लेसिसले ३८, एण्डिले फेलुकवाओले ३४, डेभिड मिल्लरले ३१ तथा कागीसो राबडाले ३१ रनको योगदान गरे।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भारतका युजभेन्द्र चाहलले ४ विकेट हात पारे। जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले समान २-२ विकेट लिए। दक्षिण अफ्रीकाको यो लगातार तेस्रो हार हो।