गाउँ निर्माणधीन ३० मेगावाटको न्यादी हाइड्रोको सुरुङ खन्ने क्रममा लगातार बिस्फोट गराइँदा उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ नाइचे गाउँमा घर तथा स्कुल चर्किएका छन् । २०७२ को महाभूकम्पले समेत असर नगरेको नाइचेमा हाइड्रोको बिस्फोटले घर चर्कने क्रम बढ्दै गएपछि दिनहुँ जोखिम बढ्दै गएको छ । पटक–पटक कम्पनीलाई जानकारी गराए पनि कुनै चासो नदिइएको भन्दै स्थानीय आक्रोशित छन् ।
गुरूङ समुदायको मात्र बसोबास रहेको नाईचेमा ६६ घर छन् । हाइड्रोपावरले गाउँदेखि १ सय ३० मिटरनजिकै सुरुङ खन्न थालेको छ। लगातारको कम्पनले घरहरु चर्किएपछि कति बेला के हुने हो भनेर डर लाग्ने स्थानीय भीमबहादुर गुरुङले बताए । उनले भने ‘गाउँमा हाइडोपावर आयो, अहिल्यै फिर्ता जा भन्न पनि भएन, त्यसोभन्दा हामीलाई विकासविरोधी भन्छन् ।’
समय–समयमा आन्दोलनमार्फत् माग गर्दै आए पनि कुनै सुनुवाई भएको छैन् । उल्टो प्रहरी प्रशासन ल्याई बल प्रयोग गरि आन्दोलन रोक्न खोज्ने र हाईड्रोमा अवरोध सिर्जना गरेमा सार्वजानिक मुद्दा लगाईदिने भनेर व्यवस्थापनले धम्की दिने गरेको स्थानीयको आरोप छ ।
चर्किएको विद्यालयमा पढ्न बाध्य
नाईचे गाउँको नयाँज्योती आधारभूत स्कूलमा करिब ४० विद्यार्थी अध्ययनरत छन् । आठ कोठे स्कुल भवन पुरै चर्किएको छ । हाईड्रोलाई पटक–पटक जानकारी गराउँदा सरोकार समितिमार्फत आएको मागलाई मात्र पूरा गर्न सकिने जवाफ आउने गरेको शिक्षकहरु बताउँछन् ।
स्कूलनजिकै सुरूङको बेक्र थ्रु राखिएकाले ठूलो आवाजले विद्यार्थीमा पढाईलाई मात्र होईन शारीरिक र मानसिक रूपमा पनि प्रत्यक्ष असर परेको स्कुलका प्रध्यानध्यापक कविजङ गुरूङले बताए । उनले भने, ‘सुरूङभित्र बम विस्फोट हुदाँ विद्यार्थीहरू डरले भागदौड गर्दा नियन्त्रण गर्न गाह्रो हुन्छ ।’
हाईड्रोको बेवास्ता
स्थलगत निरीक्षण गरेपछि जोखिमयुक्त घरहरू हिउँद लागेसँगै तत्काल पुननिर्माण गर्ने न्यादी हाइड्रोपावर कम्पनीका प्रोजेक्ट म्यानेजर उत्तम अमात्यले बताए पनि अहिलेसम्म कुनै सुरसार नगरेको स्थानीयको भनाइ छ ।
हाइड्रो पावर सञ्चालकहरूले सिमेन्टको व्यवस्था गरिदिने र आफैं मर्मत गर्न भनेको स्थानीय बताउँछन् । तर, अधिकांश स्थानीयले भने परापूर्वकालदेखि आफूहरू बस्दै आएको थातथलो पुनर्निर्माण हुनुपर्ने अडान राखेका छन् । आफ्नो घर मात्र होईन गाउँमा झन् जोखिम बढ््दै गएको स्थानीय तुलसीराम गुरुङले बताए ।
भू–गर्भविद्ले गाउँको निरीक्षण गरेपछि जोखिम घर र स्कुल पुननिर्माण गर्ने सञ्चालकहरु बताउँछन् । स्थानीय स्तरमा पाइने ढुङ्गा र माटोले बनाएको घरमा कतै–कतै चर्किनु स्वभाविक भए पनि सुरूङभित्र बम विस्फोट गर्दा गाउँलाई खासै असर नगरेको रस्थानीय आत्तिई हाल्नुपर्न स्थिति नभएको भन्दै हाइड्रो सञ्चालकहरू पन्छिने गरेका छन् ।