नेपाल मन्दिरै मन्दिरको देश भनेर पनि चिनिन्छ। मन्दिरको शिरमा सजिएको सुनको गजुर र महंगा धातुबाट बनेका मूर्तिहरु आजकल प्राय कुनै मन्दिरमा भेटिँदैन। यस्तै, पुरानो इतिहास बोकेको राज्यको धरोहर मानिने लमजुङ दरबारमा रहेका महंगा धातुका सात वटा मूर्ति चोरी भएको चार दशक बितिसक्दा पनि अहिलेसम्म खोजी भएको छैन।
शाह वंशको उद्गमस्थल मानिने लमजुङमा वि.सं. १५५० देखि १५९० को बीचमा यशोब्रह्मा शाहले लमजुङ दरबार बनाएको विश्वास गरिन्छ। २० झ्याल, तीन बाहिरी ढोका रहेको लमजुङ दरबार झट्ट हेर्दा इतिहासको झल्को दिइरहेको हुन्छ। तर, दरबारमा रहेका ब्रह्मा, विष्णु, महादेव, महाकाली, महासरस्वती, महालक्ष्मी र फरिको बहुमूल्य मूर्ति दरबारबाट हराइसकेका छन्। बहुमूूल्य मूर्तिबारे सुनेका स्थानीयले नै न त मूर्ति देख्न पाए न त पूूजापाठ गर्न नै। मूर्ति हराएकोबारे सुनेका स्थानीय चिन्त बहादुर श्रेष्ठ भन्छन्, ‘मूर्ति भेटिएको खबर अहिलेसम्म सुन्न पाइएन्, न त दोषीलाई कारबाही नै भयो।’
दरबारको पूूजा गर्ने ठाउँमा पुजारीबाहेक अरु कसैलाई पस्नलाई अनुमति नभएकाले मूर्ति कस्तो थियो भनेर थाहा नभएको स्थानीय सुरोश श्रेष्ठ बताउँछन्। वि.सं. २०३० सालमा तीनवटा र वि.सं. २०४० सालतिर चारवटा मूर्ति चोरी भएको थियो। मूर्ति चोरी भएपछि तत्कालीन स्थानीय सरकार जिल्ला प्रशासनले खोजी गरेको जस्तो गरेपनि प्रभावकारी ढंगले खोजतलास गर्न नसकेको दरबारका मुख्य पुजारी माधव बरालले बताए।
बाइसेचौबीसे राज्य हुँदा शक्तिशाली लमजुङ राज्यको राजधानी रहेको गाउँशहरको ऐतिहासिक महत्व अझै पनि उत्तिकै छ। नेपालको इतिहास हेर्दा शाहवंशको प्रादुर्भाव यही गाउँसहरबाटै शाहवंशका पहिलो राजा यशोब्रह्म शाहले राज्य गरेका थिए। शाहवंशीय राजाहरू अहिले नभएपनि इतिहास बोकेको लमजुङ दरबार अहिले गाउँशहरमै छ।
पुरातात्विक महत्व बोकेका अरू थुप्रै वस्तु अझै पनि गाउँशहर वरपर पाइने स्थानीय बासिन्दा बताउँछन्। तर, बहुमुल्य इतिहास चोरी भएको चार दशक बितिसक्दा पनि कुनै पत्ता नलाग्दा स्थानीयका लागि त्यो सधैँ चासोकै विषय बनेको छ। यसप्रति न त सरोकारवाला नै बोल्छन् न त सम्बन्धित निकाय नै। सरकारसँग आवश्यक मूर्ति माग गरेपनि खाली आश्वासनमात्र मिल्ने गरेको जानकारहरु बताउँछन्।