अविरल वर्षापछि आएको बाढीपहिरोमा परी लमजुङमा तीन जनाको मृत्यु भएको छ। अन्य चार जना बेपत्ता भएका छन्। मर्स्याङदी गाउँपालिका-३, तरापु पल्लोटारीमा घरमाथिबाट आएको पहिरोबाट जोगिन भाग्ने क्रममा ६० वर्षीया अतिरुपा थापा र उनकी नातिनी १० वर्षीया सिरस थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाख्रा चराउने क्रममा पहिरोबाट खसेको ढुंगाले लागेर मर्स्याङ्दी गाउँपालिका-४, श्रीचौरकी अन्दाजी ४० वर्षीया विष्णुकली गुरुङको मृत्यु भएको छ। गम्भीर घाइते उनलाई गाउँलेले घर ल्याएको र साँझ ७ बजेतिर मृत्यु भएको स्थानीय पूर्णबहादुर गुरुङले बताए। गम्भीर घाइते उनीहरुलाई उपचारका लागि खुदीस्थित स्वास्थ्य संस्थामा ल्याउने क्रममा बुधबार साँझ ६ बजेतिर निधन भएको डीएसपी यादव ढकालले बताए।
उनका अनुसार मर्स्याङ्दीमा एक्कासी बहाब बढेकाे र नदीले बगाउँदा बेंसीसहर नगरपालिका-११, रामचोकबेंसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका दुर्इ जना युवकलाई बगाएको छ। ठेकेदार कम्पनी रसुवा कन्ट्रक्सन प्रालिमार्फत पावर हाउसको काममा कार्यरत बर्दियाका अन्दाजी ३० वर्षीय बलिराम चौधरी र अन्दाजी २२ वर्षीय लक्ष्मण थारुलाई मर्स्याङ्दीले बगाएको प्रहरीले बताएको छ। बाढीले निर्माणाधीन जलविद्युत आयोजनाहरुमा पनि क्षति पुर्याएको प्रवद्र्धक कम्पनीहरुले बताएको छ।
यता, बेंसीसहर–चामे सडक खण्डको अर्खलेबेंसीदेखि च्याम्चेसम्म बाढीपहिरोका कारण अर्खलेबेंसीमा दुर्इ जनालाई बगाएको स्थानीयले बताएका छन्। मर्स्याङ्दी गाउँपालिका-३, अर्खलेबेंसीमा पहिरोले बगाएर घरमा रहेका अन्दाजी ७० वर्षीया ललितामाया गुरुङ र जगतगाउँ घर भएका लामा भनिने नामथर खुल्न नसकेका एक वृद्धलाई बाढीले बगाएको स्थानीय जगत गुरुङले बताए।