आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फुल’। एकअर्कालाई झुक्याएर रमाइलो गर्ने अर्थात् मूर्ख बनाउने दिन।
तर कोरोना भाइरसको संक्रमणका कारण झुटो कुरा गरेर रमाइलो नगर्न गुगलले यो वर्ष अप्रिल फुल नमनाउने निर्णय गरेको छ।
गुगलको मार्केटिङ विभागका प्रमुख लोरिन टुहिलले कम्पनीका उच्च पदस्थ कर्मचारीलाई इमेलमार्फत गुगलले यस वर्ष अप्रिल फुल नमाउने निर्णय गरिएको सन्देश पठाएका छन्।
‘सामान्य अवस्थामा अप्रिल फुल गुगलको परम्परा हो। तर यो वर्ष कोरोना भाइरसको महामारीसँग लडिरहेका मानिसको सम्मानमा हामीले यो परम्परा स्थगन गरेका छौं,’ इमेलमा उनले भनेका छन्, ‘अहिलेको हाम्रो सबैभन्दा ठूलो लक्ष्य भनेकै मानिसको सहयोगी बन्नु हो। त्यसैले हाम्रा ठट्टा अर्को अप्रिलका लागि जोगाई राखौं।’
गुगलले २ दशकदेखि अप्रिल फुल मनाउदै आएको छ ।