गुरूङ जातिहरूको लोप हुन लागेको नाँच हो, सारङ्गी नाँच। जसलाई छोटकरीमा सा–सा नाँच भन्ने गरिन्छ। जुन पहिला गुरूङ समुदायमा असाध्यै लोकप्रिय नाँच थियो। यो सारङ्गी बजाएर सा-सा भनेर नाँचिन्छ।
पछिल्लो समय सारङ्गी नाँच लमजुङका उच्च लेकमा बस्ने गोठालाले मात्र नाँच्ने गर्दछन्। विशेष गरी जनैपूर्णिमाको बेला गाउँका चेलिबेटीहरू गोठमा रहेका गोठालाहरूलाई भेट्न जाँदा गाउने र नाँच्ने प्रचलन छ।
जनैपूर्णिमा पर्वको अवसरमा गोठालालाई मैताले अर्थात रक्सी लिएर चेलिबेटीहरू भेट्न जाने चलन छ। चेलिबेटी र दूधपोखरी कुण्डमा तीर्थयात्रा गरेर गोठमा बास बसेका तिर्थालुहरूलाई सराङ्गी नाँच र गीतबाट स्वागत गरिन्छ।
गोठालाले खुसी भएर आफ्नो चेलीबेटी र तीर्थयात्रा गर्न गएकाहरूलाई देवी देउताले रक्षा गरून भनेर गाउने र नाँच्ने प्रचलन रहेको करिव १६ वर्ष लेकमा गोठाले जीवन बिताएका मर्स्याङ्दी गाउँपालिका–७ ताघ्रिङका विर्ख घलेले बताए।
गीतको शुरूवातमा ‘को खरीकी सोकिरो’ भन्ने चलन छ, त्यो भनेको गोठालाई तीन पटक रक्षा गरून भन्ने रहेछ। रातभर यो गीत गाएर नाँच्ने र अन्त्यमा तीर्थयात्रामा आएका चेलीबेटी र तीर्थयात्रीहरूलाई गीतमार्फत स्याईस्याई गरी आशिष दिइने चलन छ।
अहिलेको आधुनिक युगमा आएर यो गीत लोप हुने अवस्थामा छ। पछिल्लो पुस्ताका युवाहरू गोठमा बस्न नरूचाउने र गीत सिक्नप्रति चासो नभएका कारण गीत लोप हुने अवस्थामा पुगेको सारङ्गी नाँचका गुरू विर्ख राज गुरूङ बताए।
यस्ता अधिकांश संस्कार संस्कृतिहरू हाम्रा समाजमा विद्यमान छन्। संस्कार संस्कृतिप्रति युवा पुस्ताको कम चासो हुँदा लोप हुने अवस्थामा छन्। आधुनिकताको विकाससँगै हाम्रा धर्म संस्कृतिमा पनि पश्चिमी संस्कृतिको प्रभाव बढिरहेको छ। हाम्राे धर्म संस्कृति नै हाम्रो पूँजी भएकाले यसतर्फ युवा पुस्ताहरू बेलैमा सजक रहन आवश्यक देखिन्छ।