नेपाल प्रहरी र विमानस्थल भन्सारको संयुक्त टोलीले नक्कली भारु ७ करोड ६७ लाख ९४ हजार रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ ।
पाकिस्तानबाट कतारको दोहा हुँदै नेपाल आएका पाकिस्तानी नागरिक नासिर उद्दिनसहित अन्य ३ जनालाई दुई हजार दरको ठूलो परिमाणको भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनीहरुलाई लिन विमानस्थल पुगेका युनुस अन्सारीसहित ३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिइ शुक्रबार नै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ६७ वर्षीय नासिर उद्दिनसँगै नेपाल आएका ४९ वर्षीय मोहम्मद अफ्तर र ३९ वर्षीया नदिया अनवर तथा अन्सारीसंगै रहेका सुयल खान र गाडी चालक सुदन रानाभाट रहेका छन् । पत्रकार सम्मेलनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले बिमानस्थलमा सुरक्षा जाँच गर्नेक्रममा शंका लाग्दा नक्कली नोट बरामद भएको जानकारी दिए । उनले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको पनि बताए ।
पक्राउ परेका मध्य अन्सारीलाई यसअघि २०७० साल माघमा ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरिएको थियो । पूर्व मन्त्री सलीममिया अन्सारीका छोरासमेत रहेका उनी नेशनल टेलिभिजनका सञ्चालक रहेका थिए । उनी जेल परेपश्चात टेलिभिजन बन्द भएको थियो । अन्सारीमाथि सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामै रहेका बेला भारतीय नागरिक जसजीत सिंहले गोली प्रहारसमेत गरेका थिए ।