गाउँघरमा अलि धेरै गाउने गीतलाई सारङ्गीको धुनले पाइन हालेर गाउँदै थिए, बलराम गन्धर्व। बजारमा नयाँ निस्किएका म्युजिकलाई गाउँगाउँमा लगेर पस्किनु बलरामको पुख्यौली पेसा हो। सँगसँगै गन्धर्वको जातीय धर्म पनि। त्यसैले ढाका टोपी गजुर मान्ने बलराम उनको गायन कलासँगै पवित्र मन्दिरको आस्थाको रुपमा आफूलाई स्वीकार गर्न चाहन्छन्। शिरमा ढाका टोपी, दायाँ र बाँयातिर सारङ्गी र झोला बलरामको पुख्यौली विशेषता हो।
जहाँ गए नि यो दुःखी मलाई पीर
कहाँ बसेर के खाने मन छैन थीर,
उडी गयो रानी चरी तिरीमिरी छायाँ
जस्तो तिमीलाई पानी तिर्खा, त्यस्तै मलाई माया।
माया भन्ने चहराउने घाउ रैछ, बैगुनीले झुक्याउने दाउ रैछ ... फुल्यो बामरी ... बामरी ... बामरी ... म भोलि गइहाल्छु, बस रामरी।
गन्तव्यलाई एकछिन पर्खाएर बटुवाहरु गाइने दाइको गीत सुन्दै थिए। गाइने दाइको गीत सुनेर पैदलयात्रीका पाइलाहरु रोकिएका थिए। आजभोलि गाइने गाउँ र घरहरुमा डुल्न छोडेको गुनासो बेसीशहरका कुमार अधिकारी गर्छन्। हुनपनि अहिले गाउँघरमा गाइनेको गीत सुन्य प्राय भएको छ। तर, कहिलेकाहीँ बेसीशहर क्षेत्रमा सारङ्गीसँगै गीत केवल बलरामको नै बज्छ। गाइने जातिले बजाएर हिँड्ने बाजा सारङ्गी बलरामको साक्षी हो।
बलरामको पनि गन्धर्व पेसाप्रति आफ्नै धारणा छ। ‘बाल्यकालमा बुबाको पछि लागेर हिड्थे। स्वर्गीय बुबा पृथ्वीराम गन्धर्वको गीत गाउँघरमा सुन्थे, मानिसहरुले खुव मन पराएर चामल र पैसा दिन्थे,’बलरामले भने, ‘पढलेख केही भएन, कहीँकतै पनि जान सकिनँ र मैले पनि बुबाको बिँडो थामे।’ जनमानसले गाइनेको गीतलाई चासोको विषय बनाएपछि बलरामले फेरि गीतमै थपे।
कता गयो गीत गाउने गाइने दाइ?
सुख दुःख विरहमा चाहिनेलाई।
चिन्नीलाई त श्रीखण्ड, नचिन्नीलाई काठ,
बाह्रखरी नपढ्नेले कहिले गर्ने पाठ?
सिपालुलाई कलम मसी, मखण्डीलाई खरी,
जन्मेपछि मर्नुपर्ने, छैन अजम्बरी।
... जहाँ गए नि खोलीमा बगर, छुट्यो माया होहल्ला नगर ... फूल्यो बामरी ... बामरी ... बामरी ... म भोलि गइहाल्छु, बस रामरी।
नेपाली लोकभाकामा बलराम गन्धर्वले घरघरमा गीत सुनाउँदै चहारी दिए। घरबेटीले दान गरेको चामल, पैसा बलराम गन्धर्वले ग्रहण गर्दै गए।मुखमा नेपालको राष्ट्रिय गाथा सुरक्षित राखेर घर–घर र गाउँ–गाउँ घुम्दै पेसागत रूपमा गीत गाएर जीविका गर्ने एक जातिको रुपमा गन्धर्व जाति भएको कारण पनि मागिखान सहज छ बलरामलाई।
कसैले त काम गर्न दुःख भएर गाइने भएको भनेर पनि गाली गर्ने गरेको बलरामको दुःखेसो छ। तर, बलराम आफ्नो पुख्यौली पेसाप्रति गर्व गर्छन्। गाउँ–गाउँमा नयाँ समाचारलाई गीतमार्फत व्यक्त गर्दछन्। यसैमा उनको जीविका चलेको छ। गीत गाउँदै र सारङ्गी बजाएर दैनिक ५ सयदेखि एक हजार रुपैयाँसम्म कमाइ गर्छन्।
अरुबेला खेतीपातीमा व्यस्त रहने बलराम घरमा र खेतमा काम नभएको बेलामा सारङ्गी लिएर घुम्न हिड्छन्। लमजुङको सिमा जोडिएको जिल्ला तनहुँको भानु नगरपालिका–१० दुधेकुनाका बलराम गन्धर्व अहिले ६२ वर्षका भए। उनको गायनको विशेष कार्यक्षेत्र तनहुँ र लमजुङ जिल्ला पायक पर्ने जिल्ला हो। ख्याउटे बलराम गन्धर्वले भने, ‘अब त आउन पनि सक्दिनँ होला। बुढो भएँ। बाउबाजेले गरेको पेसालाई अहिलेसम्म बिँडो थामेको छु।’
२०२८ सालमा ५८ वर्षको उमेरमा पिता पृथ्बीराम गन्धर्वको देहवसान भएपछि पारिवारिक बोझ बलराम गन्धर्वमाथि पर्न गयो। गीत गाएर नै उनले दुई छोरा र दुई छोरी हुर्काए। अहिले कान्छा छोरा र छोरी काठमाडौंमा पढ्दै जागिर खान्छन्। जेठो छोरा घरमा र जेठी छोरीको विवाह भयो।
‘छोराछोरीले माग्न नहिड्न भन्छन्। तर, मेरो मनै मान्दैन,’ बलरामले भने,‘म भिखारी हैन, कला र गलाले गरी खान हुन्छ र आफ्नो जातीय संस्कार पनि बचाएर राख्नु पर्यो।’ अहिले बलरामलाई अर्को चिन्ता थपिएको छ। छोराहरुले सारङ्गी बजाउन पनि सिकेनन्। पुर्ख्यौली पेसालाई आफ्नो शेषपछि थाम्ने कुनै सन्तानले रहर पनि गरेनन्। अहिलेको इन्टरनेटको दुनियाँले गन्धर्व पेसा विस्थापित गराएको छ।
बलराम गन्धर्व भन्छन्, ‘गाउँमा अब हामी तीन जना मात्र सारङ्गी लिएर गीत गाउँदै पुख्यौली पेसालाई थामेका छौं।’ हुन पनि अहिलेका युवा पिँडीहरु गन्धर्वको पेसालाई चासो नै दिँदैनन्। उनीहरु सरम मान्छन्। बलरामको दुधेकुना गाउँमा आफूसहित ६६ वर्षका वीरबहादुर गन्धर्व र ४९ वर्षका कृष्णबहादुर गन्धर्वमात्र जातीय पेसामा छन्। गाउँमा कसैले पनि सारङ्गी बजाउन सिकेनन्। उनीहरुको शेषपछि दुधेकुना गाउँमा गन्धर्व जाति रहे पनि जातीय पेसा नरहने पक्का छ।
२०६८ सालको जनगणना अनुसार नेपालमा लगभग ३१ हजार गन्धर्व जाति छन्। गन्धर्व जाति लमजुङको राइनास, सिख्रा, गोरखाको ठिमुरे स्वाँरा, तनहुँको दुधेकुना, बन्दीपुर, कास्कीको बाटुलेचौर, डाँडाअर्चले, चितवनको ठोरी, दाङको घोराही, अर्घाखाँची, पाल्पालगायत स्थानहरुमा रहेको पाइन्छ। चार जात छत्तीस वर्णको साझा फूलबारीको रुपमा रहेको नेपालको विभिन्न जातजातिहरुको संस्कार र संस्कृतिले मात्र मुलुकको अस्तित्व रहन सक्छ। लोपोन्मुख कला र संस्कृतिको जगेर्ना बेलैमा गर्न जरुरी देखिन्छ।