देख्दै आङ सिरिङग हुने चट्टानी भीर। कहालीलाग्दो पहरा। त्यसैमा तुर्लुंङ डोरी झुन्ड्याएर लहरिनु। सामान्य मुटु भएका मान्छेका लागि कल्पनाभन्दा परको कुरा हुनसक्छ। पत्याउन गाह्रो भएपनि सत्य यही हो।
भीर माहुरीकाे मह काढ्दा थोरै गल्ती भए ज्यानै पनि जान सक्छ। नेपालमा विरलै हुने मह शिकार लमजुङमा कहालीलाग्दो भीर तथा पहराहरुमा ज्यानको बाजी राखेर स्थानीय शिकारीहरुले गर्दै आएका छन्। भीर माहुरी र महले प्रख्यात लमजुङमा पछिल्लो समय विना तयारी मह काढ्ने प्रचलन पनि उत्तिकै बढेको छ। लमजुङका अधिकांश भीर तथा पहराहरुमा भीर मह पाइन्छ। जाँगरिला मह शिकारीहरुले वर्षैपिच्छे मह शिकार गर्दै आएका छन्।
अधिकांश स्थानका शिकारीले त यसलाई पुर्ख्याैली परम्परा ठान्छन्। भीरमह विशेष गरी यौनबद्र्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधिको रुपमा लिने भएकाले पनि गाउँलेहरुले मह शिकार गर्दै आएको मस्र्याङ्दी गाउँपालिका–६ नाइचेका मह शिकारी आसलाल गुरुङले बताए।
भीर मह जस्तोसुकै भीरमा भने हुँदैन। भीरमाहुरीले आफ्नो सुरक्षा हेरेर पहराको बीचमा घार बनाएको हुन्छ । कहीँ कतैवाट ठेस नपुग्ने ठाउँमा बनाइएका घारमा शिकार गर्न चोयाको डोरीको साथ लिनुपर्छ । दुईवटा डोरी बाँधेर ठेल्ना राखिन्छ र भर्याङ जस्तो बनाएर डोरीलाई भीरको सिरानमा रहेको रुखमा बाँधी त्यसबाट शिकारी झुण्डेर मह काढ्ने गरिन्छ। विशेषगरी कात्तिक, मंसिर र बैशाख महिना भीर मौरीको मह काढ्ने उपयुक्त समय भएको मस्र्याङ्दी गाउँपालिका–६ नाइचेका गंगाबहादुर गुरुङ बताउँछन्।
पछिल्लो समय विभिन्न उत्सव तथा महोत्सवका नाममा रहरले भीर मह काडिदा र स्थानीयले अनावश्यक गोलाहरुमा जिस्काउँदा पनि भीरमाहुरीहरु दिनदिनै मासिँदैछन्। कोलाहल र मानव वस्ती नरुचाउने भीर माहुरीहरु अहिले मानवीय क्रियाकलापसँगै लोप हुन थालेको स्थानीयहरु बताउँछन्।
लमजुङका भुजुङ, घनपोखरा, खुदी, ताघ्रिङ, भुलभुले, पसगाउँ, दुधपोखरी, बन्सार, नाइचे लगायतका भीरपहरामा भीरमौरीहरु प्रशस्तै पाइन्छन्। झण्डै १५ सयदेखि २५ सय मिटरको उचाइका पहरामा भीरमौरीले घार बनाउने गर्दछ। भीरमौरीबाट लाखौँ रुपैँया आम्दानी गर्न सकिएपनि यससम्बन्धी सरकारले योजना र कार्यान्वयनका लागि नीति नियम बनाउन नसक्दा भीरमह भीरमा नै थन्कनु त छँदैछ, यसबाट फाइदासमेत लिन नसकेको स्थानीयको भनाइ छ। सरकारी निकायसँग यसलाई संरक्षण गर्ने कुनै योजना नहुनु र यसबारेको अनभिज्ञताले भीरमौरीको संरक्षण हुन सकेको छैन।