लमजुङमा पछिल्लो समय घरेलु तथा साना उद्योग बढेपनि बजार अभावका कारण उद्योगहरु संकटमा पर्न थालेका छन्। जिल्लामा कोसेली घर नहुनु र बजारमा बाहिरबाट आएका सामाग्रीसँग प्रतिस्पर्धा गर्न नसक्नु घरेलु उद्योगको चुनौति बनेको छ। घरेलु उत्पादनमा प्रविधिको प्रयोग गर्दै गुणस्तरीय सामाग्री उत्पादन हुन नसक्नुका कारणले पनि घरेलु तथा साना उद्योगहरु संकटमा परेका छन्।
कुनै सरकारी वा गैरसरकारी निकायमा रोजगार नभएका तथा घरभित्रको जिम्मेवारी सम्हालेका लमजुङका अधिकांश महिलाहरु व्यवसायिक सिप तथा तालिमतर्फ आकर्षित भएका छन्। तर, सिपमार्फत उत्पादित सामाग्रीहरुले बजार नपाएपछि अधिकांशले व्यवसाय छोडेका छन् भने अधिकांशको लगानी संकटमा परेको छ। सिप र क्षमता भएर पनि आफ्ना उत्पादनहरुले बजार नपाउँदा समस्या भएको क्होलासोंथर गाउँपालिका–३ घलेगाउँका उद्यमी तुलसीमाया गुरुङ बताउँछिन्।
विभिन्न ठाउँमा तालिम लिएर आफ्नै घर टोपी, मोजा, पन्जा, गलबन्दी आदि बुनेपनि बिक्रि गर्ने बजारमा नपाएपछि निकै समस्या भएको मध्यनेपाल नगरपालिका–१ जिताका अर्की महिला उद्यमी स्मृति तामाङ गुनासो गर्छिन्। उनी भन्छिन्,‘स्थानीय तहले हस्तकलालाई बजार व्यवस्थापन गरिदिएको भए हामी जस्ता महिलाहरु आयआर्जनमा सजिलो हुने थियो।’
जिल्लामा हालसम्म चारहजार भन्दा बढीलाई तालिम दिएर उद्यमी बनाएको घरेलु तथा साना उद्योग विकास समिति लमजुङको दाबी छ। व्यवसायिक सिप तथा उद्यम सम्वन्धी तालिम सञ्चालन गरेपनि तालिम लिएकाहरु कति उद्यमी बने भन्ने एकिन तथ्यांक कार्यालयमा पाइँदैन। तालिम लिएका मध्ये आधाआधीले व्यवसाय गरेको कार्यालयको अनुमान छ। मुख्य त बजारकै समस्या रहेकाले एक स्थानीय तह एक कोसेली घरको अभियान चलाउने तयारी गरेको घरेलु तथा साना उद्योग विकास समिति लमजुङका लक्ष्मी प्रसाद दाहालले बताए।
घरेलु विकास समितिले सिलाइकटाई, व्युटिसियन, अर्गानिक धुप, ढाका बुनाई, कम्प्युटर, ड्राइभिङलगायतका दर्जनभन्दा बढि विषयमा तालिम दिँदै आएको छ। कार्यालयको तथ्यांक अनुसार जिल्लामा दुई हजार भन्दा बढी घरेलु तथा साना उद्योगहरु कार्यालयमा दर्ता भएका छन्। सिपमुलक तालिमका लागि सरकारले वार्षिक लाखौँ रुपैयाँ खर्च गर्ने गरेको छ। सरकारले ठूलो लगानी गरेपनि दीर्घकालिन सोच र शैली नमिल्दा प्रभावकारी बन्न सकेको छैन।
लमजुङको चिनारीको रुपमा देखाउन अहिले हस्तकलाका कुनै सामाग्री बजारमा देख्न पाइँदैन। प्राकृतिक स्रोत र सम्पदामा धनि भएर पनि यस्तो अवस्था आउनु आफैमा लाजमर्दो कुरा भएको छ। नयाँ प्रविधिका साथ हस्तकलाका सामाग्री उत्पादनमा ढिलाई गर्दा स्वयं लमजुङ र लमजुङबासीलाई घाटा पुगेको सरोकारवाला बताउँछन्। सरकारी निकायको बेवास्ता, व्यवसायीमा प्राविधिक तथा व्यवसायिक ज्ञानको अभाव लगायतका कारण बजारको राम्रो माग भएपनि अहिले लमजुङमा हस्तकला व्यवसाय संकटमा परेको छ।