प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको अनियमिततामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।
प्रेस युनियन कैलालीले सोमबार बिहान धनगढीमा गरेको पत्रकार सम्मेलनमा देउवाले वाइडबडी विमान खरिद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए।
उनले विमान खरिद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गरे। ‘मेरो पालामा वाइडबडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो?’उनले भने।
सभापति देउवाले कांग्रेस महासमिति बैठकपछि पार्टी एक ढिक्का भएको दाबी गरे। फरक प्रसंगमा देउवाले नेविसंघमा देखिएको विवाद चाँडै समाधान गरिने बताए।