नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारसँग दुई तिहाई बहुमत हुँदा पनि काम गर्न नसकेको आरोप लगाएका छन्।
मंगलबार विहान नेपाल प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा उपसभापति निधिले केपी ओली नेतृत्वको वर्तमान सरकार लाचार अवस्थामा पुगेको बताए। उनले ओली नेतृत्वको सरकार दुई तिहाई बहुमतको दम्भले रमिते बनेको आरोप लगाए।
‘दुई नम्बर प्रदेशबाहेका अन्य प्रदेशमा आफ्नै सरकार हुँदा पनि प्रदेश सरकारलाई अधिकार दिएको छैन,’निधिले भने। उनले संघीयता कम्युनिष्टहरुले चाहेको व्यवस्था नभएको पनि दाबी गरे। ‘प्रदेशदेखि केन्द्रसम्म कम्युनिष्टहरुको सरकार छ’, निधिले भने,‘काम केही भएको छैन। सामान्य अवस्थामा हुनुपर्ने काम पनि गर्न सकेको छैन।’
निधिले संघीयतालाई केन्द्र सरकारले अझै स्वीकार नगरेको आरोप पनि लगाए। ‘प्रदेशको आफ्नो प्रहरी, आफ्नो कर्मचारी हुनुपर्छ। केन्द्रले यहाँको प्रहरी प्रशासन चलाउने होइन,’उपसभापति निधिले भने,‘संघीय सिद्धान्त अनुसार हरेक प्रदेशको आफ्नो प्रहरी,आफ्नै कर्मचारी र अदालत हुनु पर्दछ।’
उनले प्रदेशलाई अधिकार दिन केन्द्र पनि तयार नभएको र केन्द्रसँग अधिकार माग्न प्रदेश पनि तयार नरहेको बताए।