राष्ट्रियसभाको अध्यक्षमा सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिसभाको मंगलबारको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहेकी उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरिन्।
त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो । दुवै प्रस्तावको मतदानमा ५६ सांसद सहभागी भए भने एक सांसद तटस्थ बसेका थिए । कुल ५९ सदस्यीय हुने सो सभामा हाल ५८ सदस्य कायम थिए ।
दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए ।
नेपाली कांग्रेसका उम्मेदवार शर्मालाई अध्यक्ष पदमा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले प्रस्ताव गरेका थिए भने काँग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंहले समर्थन गरेका थिए ।
यसैबीच, नवनिर्वाचित अध्यक्ष दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।मङ्गलबार राष्ट्रपति पौडेलले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम शपथ दिलाएका हुन् ।
नवनिर्वाचित अध्यक्ष दाहालले उक्त सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताए।सभा अध्यक्षमा निर्वाचित भएपछि बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यस संस्था अत्यावश्यक संस्था हो भन्ने मान्यता स्थापित गर्न भूमिका खेल्ने बताए ।