नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसनले भेटवार्ता गरेका छन् ।भेटमा राजदूत थम्पसनले एमसीसी परियोजना समयमै सक्न दुबै मन्त्रीकाे ध्यानाकर्षण गराएका छन् । मन्त्रीहरूसँग शिष्टाचार भेटका लागि थम्पसन सिंहदरबारमा पुगेका थिए ।
दुवै जना मन्त्रीसँग राजदूत थम्पसनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना समयमै सम्पन्न गर्न चासो राख्दै आपसी हितका विविध विषयमा कुराकानी गरेका थिए।
सो अवसरमा अर्थमन्त्री पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन अपिल गरे ।
यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले पनि नेपालमा लगानीमैत्री वातावरण भएको उल्लेख गर्दै आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानी भित्र्याउनका लागि आग्रह गरे ।