नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकले गरेको कार्य विभाजनप्रति लिखित असहमति व्यक्त गरेका छन्। शर्माले पार्टी विधि विपरीत मुख्य नेतृत्वले आफ्नो अनुकूलतामा कार्यविभाजन गरेको दाबी गरेका छन्।
‘कार्य विभाजन गर्दा पार्टी निर्माण गर्न संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य विपरीत कतिपय प्रदेशहरुमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु,’ शर्माले लिखित अहमतिमा भनेका छन्।
उनले जनप्रतिनिधिलाई इञ्चार्ज नबनाउने नीति लागु नभएको बताएका छन्। उनले अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण दाहाल र बुहारी बिना मगरलाई सह–इञ्चार्ज बनाएकोमा आपत्ति जनाएका छन्। ‘जनप्रतिनिधिहरु पाटीको इन्चार्ज नरहने नीति म लगायतका कमरेडहरुलाई लागू भएको छ। अनि नारायण दाहाललाई बागमती प्रदेशको सह–इन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पस्ट गरेको छ,’ शर्माले भनेका छन्।
उनले मेची–महाकाली अभियानमा केही समयदेखि इन्चार्ज बनाउन अध्यक्षसमेतको संलग्नतामा गरिएको गतिविधिहरुले पार्टीमा असन्तुष्टि बढेको बताएका छन्। ‘मेची–महाकाली अभियानमा केही समयदेखि इन्चार्ज बनाउन अध्यक्ष समेतको संलग्नतामा गरिएको गतिविधिहरुका आधारमा दर्जनभन्दा बढी कमरेडलाई बेवास्ता गर्दै स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्युत गरी विकल्प नदिई अपमानित गरिएको छ। सो प्रदेशमा हाललाई बिना मगरलाई सह–इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कमरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैँमा गम्भीर छ,’ असहमति पत्रमा उल्लेख छ।
बैठकले कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव हरिबोल गजुरेललाई दिएको छ भने सह–इन्चार्जको जिम्मेवारी सावित्रीकुमार काफ्लेलाई दिएको छ। मधेश प्रदेशको इन्चार्ज सचिव लिलामणि पोखरेल र सह–इन्चार्जको जिम्मवारी स्थायी कमिटी सदस्य विश्वनाथ साहले पाएका छन्।
त्यस्तै, वागमती प्रदेशको इन्चार्जको जिम्मेवारी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटालाई दिइएको छ। वागमतीमा सह–इन्चार्ज भने तोकिएको छैन। गण्डकी प्रदेश इन्चार्ज सचिव दिनानाथ शर्मा र सह–इन्चार्ज हरिराज अधिकारीलाई दिइएको छ। त्यस्तै, लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव चक्रपाणि खनाल र सह–इन्चार्जको जिम्मेवारी कुलप्रसाद केसीले पाएका छन्।