नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले कोशी प्रदेशमा मध्यावधि चुनाव रोक्नका लागि कांग्रेस खुल्ला हुनुपर्ने बताएका छन्।
विराटनगरमा बुधबार संचारकर्मीहरुसंग कुरा गर्दै कांग्रेस नेता निधिले अहिले कोशी प्रदेश सभामा बहुमत सिद्ध गर्न सक्ने कांग्रेसका कुनै प्रदेश सासंदको नेतृत्वमा सरकार बनाउने कि मध्यावधि चुनावमा जाने भन्ने दुई विकल्पमध्ये कांग्रेसका जुनसुकै सांसदको नेतृत्वमा सरकार बन्छ भने त्यसका लागि कांग्रेस तयार हुनुपर्ने बताएका हुन्।
’कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा दुईपटक सरकार गठन भएर पनि बहुमत सिद्ध गर्न नसकेर सर्वोच्च अदालतले पद मुक्त गरिदिएको अवस्था छ,’ उनले भने, ’अहिले संविधानको धारा १६८ को उपधारा (५) अनुसार पुनः सरकार गठनका लागि भइरहेको प्रयासमा दलका नेताले पहल गर्नु स्वभाविक हो। तर बहुमत सिद्ध गर्ने गरी सरकार बनाउन सकेनौं भने मध्यावधि चुनाव निश्चित छ, त्यसलाई मध्यनज राखेर काम गर्नुपर्छ।’
त्यसैले अहिलेको अवस्थामा कांग्रेसका जोसुकै सांसदको नेतृत्वमा सरकार बन्छ भने कांग्रेस खुल्ला हुनुपर्छ, बाधक बन्नु हुँदैन भनेर पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराइसकिएको निधिले जानकारी गराए।
’विश्वासको मत लिने बेलामा दलहरूले कसलाई समर्थन गर्छन् त्यस्तो सांसदको नेतृत्वमा कांग्रेसले सरकार बनाउन विकल्प दिन सक्नु पर्छ,’ उनले भने, ’तत्कालीन एमाले नेता झलनाथ खनाल दलको नेता हुँदाहुँदै गिरिजाप्रसाद कोइरालाले माधव नेपालको नाम प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको घटनालाई यतिबेला स्मरण गर्नुपर्छ।’ त्यसैले सरकार मात्रै बनाउन नेता थापाको नेतृत्वमा पुनः सरकार बनाउने हो भने मध्यावधिमा जानुको विकल्प नरहने निधिको भनाइ थियो।
कोशी प्रदेशमा यतिबेला सर्वोच्च अदालतको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमाले नेता हिक्कमतकुमार कार्कीको नेतृत्व अल्पमतको सरकार छ। उनले भने, उक्त धाराको उपधारा (४) अनुसार असोज २० गतेभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नैपर्ने बाध्यात्मक अवस्था छ। ९३ सदस्यी प्रदेशसभा ४७ सांसदको बहुमत रहेको गठबन्धन दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको हुँदा उनले विश्वासको मत नपाउने र उपधारा (५) को सरकार गठन हुनेछ।’
पार्टी महामन्त्री गगन थापाले कांग्रेसलाई सरकार बाहिर बस्नु पर्ने भनेर दिएको अभिव्यक्तिलाई कांग्रेस नेता निधिले अपरिपक्व भएको टिप्पणी गरे। उनले सरकार फेर्ने र मन्त्री फिर्ता बोलाउने कांग्रेसको कुनै योजना नरहेको पनि प्रष्ट पारे।