प्रतिपक्षी दलको अवराेधका कारण सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ। आइतबार दिउँसो २ बजे बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाले रोष्टम घेराउ गरेर नाराबाजी गरेपछि बैठक स्थगित भएको हो।
असोज १२ गतेको प्रदेश सभा बैठकले प्रतिपक्षी दलको सहभागिताबिना प्रदेशको नाम र स्थायी राजधानी तोकेको भन्दै कांग्रेस र राजपाले बैठक अवरोध गरेका हुन्। बैठक सुरु हुना साथ नाराबाजीसहित रोष्टम घेराउ गरेका कांग्रेस र राजपाले लोकतान्त्रिक पद्धति विपरीत दुई तिहाईको दम्भमा नाम र राजधानी तोकिएकाले आफूहरुलाई मान्य नहुुने बताए।
कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले प्रदेश सभा र प्रदेश सरकारले दुई तिहाईको दम्भ देखाएको बताए। उनले प्रतिपक्षी दलको सहभागिता विना गरिएको निर्णय नमान्ने बताउँदै निर्णय नसच्चाउञ्जेल संसदको अवरोध नहट्ने बताए।सभामुख अर्जुनबहादुर थापाले दुईतिहाई मतका साथ प्रदेश सभा बैठकले गरेको निर्णय सच्चिने कुनै सम्भावना नरहेको बताए। उनले संसदको गतिरोध चाँडै अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताए।
असोज १६ गते बस्ने बैठक अघि नै प्रतिपक्षी दलसँग सहमति हुनेमा आफू आशावादी रहेको सभामुखको भनाई छ। असोज १२ गतेको प्रदेश सभा बैठकले दुई तिहाई मतका साथ प्रदेशको नाम सुदूरपश्चिम प्रदेश र राजधानी कैलालीको गोदावरीमा राख्ने प्रस्ताव पारित गरेको थियो।
यो निर्णयसँगै सदनमा कांग्रेस र राजपाले अवराेध गरिरहेका छन् भने धनगढीबासीले अनिश्चितकालिन आमहड्ताल आह्वान गरेका छन्। धनगढीबासीले हाल अस्थायी राजधानी रहेको धनगढी नै स्थायी राजधानी हुनुपर्ने भन्दै शनिवारदेखि अनिश्चितकालिन आमहड्ताल सुरु गरेका हुन्। डोटीको दिपायल राजधानी हुनुपर्ने भन्दै डोटीबासीले पनि शनिवारदेखि अनिश्चितकालीन आमहड्ताल सुरु गरेका थिए। डोटीमा पनि आमहड्ताल जारी रहेको छ।