प्रदेश ७ को स्थायी राजधानी र नामको विषयलाई लिएर आह्वान गरिएको अनिश्चितकालीन बन्दले धनगढीको जनजीवन प्रभावित भएको छ।
प्रदेशसभाले राजधानी कैलालीको गोदावरी नगरपालिका–२, तेघरी र नाम सुदूरपश्चिम राख्ने प्रस्तावलाई दुईतिहाई बहुमतले पारित गरेपछि आह्वान गरिएको अनिश्चितकालीन बन्दले धनगढीको जनजीवन प्रभावित भएको हो।
नागरिक संघर्ष समितिले गरेको अनिश्चितकालीन बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन चल्न चलेको छैनन् भने धनगढीको मुख्य बजार खुल्न सकेको छैन। बन्दकर्ताले विद्युतीय रिक्सा चल्नमा समेत रोक लगाएका छन्। तर, केही रिसा भने छिटपुटमात्रामा चलिरहेका छन्।
बन्दकर्ताहरु चोक चोकमा जम्मा भएर नाराबाजी गरिरहेका छन्। बन्दलाई मध्यनजर गर्दै धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले धनगढीमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ।
तत्कालिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकेको थियो। तर, शुक्रबार संसद बैठकले प्रतिपक्षी दलको बहिष्कारका बाबजुत प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने प्रस्ताव दुईतिहाई बहुमतले पारित गरेको थियो।
बन्दकर्ताहरुले धनगढीमा अस्थायी राजधानीका लागि करोडौं रुपैयाँ खर्च भइसकेकाले गोदावरीमा जंगल मासेर राजधानी नबनाउन प्रदेश सरकारसँग माग गरिरहेका छन्।