प्रदेश नम्बर ७ को राजधानी र नामाकरणमा असहमति जनाउँदै कैलालीकोे धनगढीमा आम हड्तालको घोषणा गरिएको छ।
नेकपाका प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा गठन भएको प्रदेशको नामांकन र स्थायी राजधानी निर्धारण गर्न गठित विषेश समितिले तयार पारेको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेश गरिएको थियो।
संसदीय समितिले प्रदेश ७ को राजधानी कैलालीको ‘गोदावरी’ र नाम ‘सुदूरपश्चिम’ राख्न प्रतिवेदन प्रदेश सभामा पेश गरेको थियो। धनगढीमा रहेका संरचनमा करोडौं लगानी गरेपछि राजधानी सार्ने गलत निर्णय भइरहेको भन्दै धनगढीमा आम हड्तालको घोषणा गरिएको हो।
धनगढीवासीहरुले बुधबार प्रेस विज्ञप्ति निकाल्दै आम हड्तालको घोषणा गरिएको हो। बुधबार मात्रै प्रदेश नम्बर ७ को राजधानी र नामाकरणमा असहमति जनाउँदै धनगढीस्थित प्रदेश संसदको कार्यालय बाहिर सर्वसाधरणले प्रदर्शन गरेका थिए। नागरिक समाजको अगुवाइमा प्रदेश संसदको भवन रहेको स्थान बाहिरको सडकमा सर्वसाधरणले टायर बालेर प्रदर्शन गरेका हुन्।
उनीहरुले संसदीय समितिको सिफारिस मान्न नसकिने जनाउँदै प्रदर्शन गरेपछि धनगढीको अवस्था तनावग्रस्त भएको छ। प्रदेश सातको नाम सुदूरपश्चिम राख्ने सिफारिस गरेर संसदीय समितिले पञ्चायतकालिन संरचनालाई नै निरन्तरता दिन खोजेको भन्दै त्यस प्रदेशका अधिकांश जिल्लाबाट असन्तुष्टिको स्वर चुलिएको छ।
धनगढीका मेयर नृपबहादुर वड पनि सडकमा ओर्लिएका छन्। उनी नेपाली कांग्रेसबाट विजयी भएका थिए।