विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल छिरेपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्।
तालिबानका लडाकुहरू राजधानी काबुल छिरेको केही घन्टामै घानी हवाई मार्ग हुँदै ताजिकिस्तान गएको रोयटर्सले जनाएको छ।
सुरक्षाका कारण घानी कहाँ छन् भन्नेबारे केही जानकारी गराइएको छैन। आइतबार दिउँसो शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरणका लागि तालिबान प्रतिनिधिहरू राष्ट्रपति कार्यालय गएका थिए। त्यसक्रममा तालिबानहरूले काबुललाई बलपूर्वक नियन्त्रणमा नलिने जानकारी गराएका थिए। उनीहरुले नागरिकको जीवन र सम्पत्तिको आफूहरूले रक्षा गर्ने उल्लेख गर्दै कसैलाई पनि देश नछोड्न भनेका थिए।