लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी वली खत्रीले मुख्यमन्त्री कार्यालयमा आफूलाई बन्धक बनाएर राखिएको आरोप लगाएकी छिन् ।
वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कार्यकालयमा आफूलाई बन्धक बनाएर राखिएको बताएकी हुन्। यसअघि उहाले कहिले नेकपा एमाले त कहिले माओवादी केन्द्रमा रहेको भन्दै अभिव्यक्ति दिँदै आएकी थिइन् भने साउन १५ यता उनी माओवादी केन्द्रसँग सम्पर्क बाहिर रहेकी थिइन् ।
साउन २० गते बिहान आफूलाई असह्य मानसिक पीडा भएको र दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको बताइन्।
साउन १५ गते उपचारका लागि नेपालगन्ज जाने क्रममा आफूलाई लुम्बिनी प्रदेशसभाका एमाले सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर राउतले बुटवल पु¥याएको उनले आरोप लगाइन् । त्यस्तै उनले आफूले नेकपा माओवादी केन्द्र रोजेर २०७८ वैशाख १७ गते प्रदेशसभा सदस्यता हासिल गरेको पनि स्पष्ट पारिन् । आफू नेकपा माओवादी केन्द्रप्रति पूर्ण प्रतिबद्ध भएको उनको भनाई छ ।
राजनीति र सरकारको खेलमा यस्तो घटना पहिलो पटक बेहोर्न परेको भन्दै उनले नेकपा (एमाले) ले यस्तो अराजनैतिक र अनैतिक काम गर्ला भनेर नसोचेको तर्क गरिन्। यस घटनाबाट गम्भीर शिक्षा प्राप्त भएको र अझै परिपक्व बनाएको उनले बताइन्। आफ्नो नामबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश दलले फैलाएको भ्रमहरु र जबरजस्ती गरिएको कागज र हस्ताक्षर झुठो भएको वलीले बताइन् ।