सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले सीमा अतिक्रमण रोक्न नेपाल-भारत सीमामा सेनालाई परिचालन गर्नुपर्ने सुझाएकी छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सोमबार नेतृ भुसालले अब खुला सीमाको नियमन गरी ठूलो संख्यामा रहेको नेपाली सेना परिचालन गर्नुपर्ने बताएकी हुन् । ‘अब खुला सीमामा नियमन गर्नुपर्छ । ठूलो संख्यामा रहेको सेना र सशस्त्र प्रहरीलाई खटाउनुपर्छ । सीमा विवाद स्थायी रुपमा समाधान गरिनुपर्छ,’ उनले भनिन्, ‘नेपालको भूमि भारतीय सशस्त्र सीमा सुरक्षा बलले नै प्रयोग गरिरहेको छ । यो गम्भीर कुरा हो । खुला सीमाको बहानामा अमेरिकाले मुजाहिद्दिन छिर्छ भन्दै छ । त्यहीकारण यो मौकालाई उपयोग गर्दै नेपालले सीमा नियमन कडा बनाउनुपर्छ ।’
भारतले नेपाली भूमि अतिक्रमण गरेको बारेमा सरकारले सर्वदलीय सर्वपक्षीय छलफल गरी पहिलो सहमति जुटाएकाले अब यो विवाद टुंग्याउन ढिला गर्न नहुने भुसालको भनाइ छ । ‘हामी आन्तरिक रुपमा विभाजित हुँदा विदेशी शक्तिले खेलेका थिए । अहिले तराई, पहाड सबै एक भएकाले अब शक्तिका रुपमा लिएर सरकारले कदम चाल्नुपर्छ,’ उनले भनिन्, ‘ऐतिहासिक तथ्य प्रमाणहरुका विपरीत नक्सा छापेर भारत सरकारले हामीलाई चुनौती थपेको छ। यो ठीक्क बेला हो, कालापानी, लिम्पियाधुरा फिर्ता ल्याउन अब सरकारले खुट्टा टेक्नुपर्छ ।’
सुगौली सन्धिले तय गरेको नक्सालाई भारतले मान्नुपर्ने उनले बताइन् । ‘ब्रिटिस साम्राज्यसँग उपनिवेश बसेको भारत नेपालको भूमि मिच्दै हाम्रोतिर बस्नु गलत हो,’ उनले थपिन्, ‘सरकारले यथाशिघ्र राजनीतिक तहबाट हल गर्नुपर्छ । अब कर्मचारीको तहबाट यसको समाधान हुन सक्दैन । हाम्रो सीमाको व्यवस्थापन गरेर जानुपर्छ ।’ विश्वका सबै राष्ट्रको खुला सीमा नरहेको बताउँदै उनले सीमाको नियमन गरिनुपर्नेमा जोड दिएकी हुन् ।