सत्तासीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भारतले मिचेको मिचिएको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्न नहुने बताएका छन्।
भारतले नेपालको सीमा मिचेको बारेमा राज्यव्यवस्था समितिले डाकेको आजको छलफलमा बोल्दै अध्यक्ष दाहालले यस्तो भनाई राखेका हुन्।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतविरूद्ध अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताएपछि दाहालले यस्ताे भनाइ राखेका हुन्। सांसद सुवालले भारतले नेपालको भूमि आफ्नो नक्सामा राखेपछि अब अन्तर्राष्ट्रिय अदालत जानुपर्ने तर्क गरेका थिए।
‘अहिले यसलाई अन्तर्राष्ट्रियकरण नगरौं’, पूूर्ब प्रधानमन्त्रीसमेत रहेका दाहालले भने, ‘यदि गम्भीर वार्ता गर्दा पनि समाधान नभए पछि हेरौँला।’
ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेज लिएर भारतसँग प्रस्ट कुरा गर्नुपर्नेमा उनले जोड दिए। महाकाली नदीको मुहान लिम्पियाधुरा भएको स्पष्ट दस्तावेज रहेकाले लिम्पियाधुरा पूर्वको क्षेत्र नेपाल र पश्चिम क्षेत्र भारत रहेको विषयमा कुनै अन्योल नरहेको दाहालको भनाई थियो।
‘विगतमा स्थिरसरकार नहुँदा यस्ता समस्या देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले भारतसँग गम्भीर वार्ता गर्ने उपयुक्त समय अहिले नै भएको बताए। विगतमा दह्रो कुरा राख्न नसकेको कारण समस्या देखिएको दाहालको भनाई थियो।
समितिले आजको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई समेत बोलाएको थियो। तर प्रधानमन्त्री ओली भने उपस्थित भएनन्।