२८ जेठ २०३०।
हामी जहाजभित्र पस्दा ककपिटनेरको एउटा सिट त खाली थियो, अर्कोमा भने एकजना मान्छे बसिसकेका थिए । हाम्रो योजना अनुसार एउटामा वसन्त भट्टराई र अर्कोमा म बस्नुपर्ने थियो । अब के गर्ने?म त्यो सिटमा बसिरहेका यात्रुनजिक गएँ र भनेँ, ‘मलाई जहाज उडाएको हेर्न साह्रै रहर छ । तपाईं मेरो सिटमा बसिदिनु भयो भने म यहाँ बसेर हेर्न पाउँथें ।’
उनले मेरो अनुरोध सजिलै स्वीकारे र सिटबाट उठेर पछाडि गए । अब योजना मुताबिक वसन्त र म ककपिट नजिक, हाम्रा अर्का साथी नगेन्द्र ढुंगेल अलि पछाडि अन्य यात्रुहरुसँगै बसे । हामी सबैले आ–आफ्ना हतियार बोकेका थियाैं । मैले मोटो ज्याकेटमुनि रिवल्भर लुकाएको थिएँ । वसन्तले ग्रिनेड लिएका थिए भने नगेन्द्रसँग मेरोजस्तै रिवल्भर थियो ।
शाही नेपाल वायुसेवा निगमको त्यो सानो १९–सिटे ट्विनअटर विमान विराटनगरबाट काठमाडौं जान भनेर उड्न लाग्दै थियो । विमानमा चालक दलका तीन जनाबाहेक हामी १४ जना यात्रु थियाैं । पछि थाहा पाए अनुसार त्यस दिन विमानका पाइलट केदारराज मानन्धर र को–पाइटल त्रिदेव वैद्य रहेछन् ।
हामी बसेको केही समयमै जहाज उड्यो । जहाज उडेको पाँच मिनेटमा म सिटबाट उठेँ र वसन्तलाई भनेँ, ‘भित्र हेर्न जाने होइन ?’वसन्त पनि सिटबाट उठे । त्यस दिन जहाजमा महिला परिचारिका थिएनन्, पुरुष थिए । हामी ककपिटमा छिर्न खोज्दा उनले रोक्न खोजे । वसन्त ती कर्मचारीसँग कुरा गर्दै थिए, म भित्र छिरिहालेँ । र, पाइलटको कुर्सीनजिकै पुगेँ । त्यतिन्जेलमा वसन्त पनि छिरे । को–पाइलटले वसन्तलाई रोक्न खोज्दै थिए, मैले पाइलटको घाँटीमा पछाडिबाट एक हातले अँगालाे हालेँ र अर्को हातले कन्चटमा बन्दुकको नाल तेर्स्याएँ । र, संचार यन्त्र बन्द गर्न भनें । आफ्नो कन्चटमा बन्दुक तेर्स्याएको देखेर पाइलट बेस्सरी डराए । ‘के गरेको यस्तो ?’ उनी अत्तालिए ।
उनले कन्चटमा तेर्स्याएको बन्दुक हटाउन खोजे । को–पाइलट वैद्यलाई वसन्तले नियन्त्रणमा लिइसकेका थिए । उनको हातमा ग्रिनेड देखेर को–पाइलट डराइसकेका थिए । जहाजले भर्खरै उचाइ लिइरहेको हुनाले पाइलटको एक हात उडान संयन्त्रमा व्यस्त थियो । मैले बन्दुक झन् जोडले दबाएपछि उनले जहाज चलाइरहेको हात पनि हटाएर दुवै हातले बन्दुक हटाउने प्रयास गरे । संयन्त्रमा दुवै हात नभएपछि जहाज एकाएक तलतिर झर्न थाल्यो । यसले गर्दा उनले फेरि एक हात बन्दुकबाट हटाएर संयन्त्रमा नै लगे । जहाज फेरि माथि उड्न थाल्यो । मेरो रिवल्भर उनको कन्चटमै थियो । जहाज अलि माथि नै पुगिसकेपछि उनले फेरि एकपटक ‘के गरेको ?’ भन्दै रिवल्भर हटाउने प्रयास गरे ।
वसन्तले भने, ‘हामीले भनेको मान्ने कि यो ग्रिनेड यहीँ खोलिदिऊँ? हामी त क्रान्तिकारी हौँ, मरे मर्छौं। तिम्रो बेबकुफीले तिमी र सबै यात्रुको ज्यान जान्छ । के गरौँ?’
त्यसैबेला कसैले पछाडिबाट मेरो कठालो समाएर जोडले तान्न खोज्यो । अब ककपिटमा सा“च्चिकै लडाइ“ सुरु भएको थियो । फर्केर हेर्छु, ती त को–पाइलट पो रहेछन् । वसन्तलाई ठेलेर ती पाइलटलाई छुटाउन आएका रहेछन् । तर, एकैछिनमा वसन्तले तिनलाई कठालोमा समाएर तानिहाले । उनको नजिकै ग्रिनेड लगेर वसन्तले भने, ‘हामीले भनेको मान्ने कि यो ग्रिनेड यहीँ खोलिदिऊँ ? हामी त क्रान्तिकारी हाैँ, मरे मर्छौं । तिम्रो बेबकुफीले तिमी र सबै यात्रुको ज्यान जान्छ । के गराैँ?’ त्यसपछि बल्ल को–पाइलटले पुरुष परिचारकलाई ककपिटबाट बाहिर जान भने । उनीहरुले संचार यन्त्र बन्द गरे । अब एयरपोर्टसँगको सम्बन्ध विच्छेद भयो । जहाज घरी तल, घरी माथि गरिरहेको थियो । त्यत्तिकैमा वसन्तले पाइलटले कानमा लगाएको माइक्रोफोन खोलिदिए ।
यतिन्जेल मैले पाइलटलाई नियन्त्रणमा लिएको थिएँ तर केही भनेको थिइनँ । यसो बाहिर हेरेको त जहाज निकै पश्चिममा पुगिसकेजस्तो लाग्यो । अनि, मैले पाइलटलाई भनेँ, ‘हामीसित हतियार छन् । हामी ज्यानको माया मारेर देशका लागि लडिरहेका क्रान्तिकारी हाैँ । हामीसँग लडेर न तपाईंले केही पाउनुहुन्छ, न जित्नहुन्छ । त्यसैले हामीले भनेको मान्नूस् । र, यो जहाजलाई फर्काउनूस् ।’मेरो कुरा सुनेर पाइलट मानन्धर अलि शान्त भए । उनले काँपेकाे स्वरमा भने, ‘तपाईंले मेरो कन्चटमा दुलो पार्ने गरी बन्दुक लगाउनु भएको छ । पहिले यो बन्दुक हटाउनूस् । तपाईंले भनेकै ठाउँमा जहाज लगिदिउँला ।’अनि, बल्ल मलाई याद भयो, जोश र डरमा मैले बन्दुकको नालले उनलाई साह्रै घोचेको रहेछु । मैले रिवल्भर कन्चटबाट हटाएर टाउकोको पछाडिपट्टि लगाएँ ।
त्यतिबेलासम्म पनि जहाजका यात्रुलाई ककपिटमा के भइरहेको छ भन्ने थाहा थिएन । जहाज अस्वाभाविक तरिकाले तलमाथि गरेपछि केही गडबड छ भन्ने त लागेको हुँदो हो । मैले पाइलटलाई जहाज उतार्ने ठाउँबारे बताएँ, ‘जहाजलाई विराटनगरको दक्षिणमा भारतको फारबिसगन्जमा उतार्नुपर्छ ।’‘यत्तिकै नक्सा नभई म लैजान सक्दिनँ, कहाँ कति टाढा छ, यहाँबाट हेरेर थाहा हुँदैन,’ पाइलटले भने । ‘विराटनगरबाट ३० किलोमिटर दक्षिण हो,’ मैले भनेँ ।
मैले पाइलटलाई भनेँ,‘हामीसित हतियार छन्। हामी ज्यानको माया मारेर देशका लागि लडिरहेका क्रान्तिकारी हौँ। हामीसँग लडेर न तपाईंले केही पाउनुहुन्छ, न जित्नहुन्छ। त्यसैले हामीले भनेको मान्नूस्। र, यो जहाजलाई फर्काउनूस्।’
उनले जहाज कोसीतिर मोडे । अनि, मैले फारबिसगन्ज बजारको नक्सा कोरेको कागज निकालेर उनलाई देखाएँ, ‘रेल्वे स्टेसनको ठीक पूर्वपट्टि एउटा घासे मैदान छ । त्यसको एक छेउमा बडेमानको सिमलको रुख छ । रुखको टुप्पामा रातो झन्डा बाँधिएको छ । त्यही झन्डालाई खोज्दै हिँड्नूस् ।’ यति भन्दाभन्दै मैले तल हेरेँ । जहाजले एउटा सहरलाई पार गर्न लागेको देखेँ । कुन सहर हो भनेर पत्ता लगाउन म ककपिटबाट बाहिर निस्किएर जहाजको बीचको झ्यालमा आएर हेर्न थालेँ । ककपिटबाट अगाडि त देखिन्थ्यो तर तल के छ भनेर झ्यालबाट हेर्न मिल्दैनथ्यो । हातमा बन्दुक लिएर म ककपिटबाट निस्किएको देखेपछि यात्रुमाझ हल्लीखल्ली भयो । सबै भयभीत र त्रस्त देखिए ।
यात्रुको बीचमा बन्दुक लिएर बसेका भए पनि अहिलेसम्म नगेन्द्रले केही भनेका थिएनन् । म ककपिटबाट बन्दुकसहित आएको देखेपछि मानिसहरु आत्तिए । उनीहरुले हल्लाखल्ला गर्न थालेपछि नगेन्द्रले उठेर बन्दुक देखाए । उनले सबैलाई राजनीतिक कारणले विमान अपहरण गरिएको, कसैलाई केही हानि नहुने भन्दै शान्त रहन भने । मैले झ्यालबाट जति नियाले पनि कुन सहर हो, पत्ता लगाउन सकिनँ । नसकेपछि म फेरि ककपिटतिर फर्किंदै थिएँ । एउटी युवतीले मेरो नाम लिएर रूँदै गरेको सुनेँ, ‘दुर्गा दाइ ! के गरेको यस्तो ? लौ न !’
उनी रूँदै थिइन् । मलाई चिनेकी रहिछन् । तर, उनी को हुन् भनेर सोधीखोजी गर्ने फुर्सद मलाई थिएन । म वेगले ककपिटभित्र छिरेँ । र, पाइलटलाई सोधेँ, ‘हामी विराटनगरभन्दा कति टाढा छाैँ ?’‘एक सय किलोमिटर दक्षिणमा उडिरहेका छाैँ ।’
फारबिसगन्ज त जम्मा ३० किलोमिटरमा थियो । हामी धेरै टाढा पुगिसकेछाैँ भन्ने भयो । मनमा लाग्यो, लौ बर्बाद भयो । फारबिसगन्ज पुग्न सक्ने भइएन । त्यसैबेला पाइलटले भने, ‘जहाजलाई वीरपुरतिर फर्काएर लैजाऊँ ।’उनले नक्सामा वीरपुर देखाउँदै थपे, ‘वीरपुरको मैदानमा उतार्न सकिन्छ ।’
उनको कुरा र आफ्नो सम्भावित असफलताले हामीलाई निकै उत्तेजित बनाएको थियो । हामी के गर्ने, कसो गर्ने भनेर यताउता गरिरहेका थियाैं । म ककपिटबाट बाहिर निस्किएर घरी झ्यालबाट बाहिर हेर्थें, घरी भित्र छिर्थें । वसन्त भने ककपिटमै बसे । उनको एउटा हातमा ग्रिनेड थियो, अर्को हात त्यसको पिनमा । पाइलटले हामीले भनेको नमाने जुनसुकै बेला पिन निकालिदिने धम्की दिएर उनले पाइलटलाई थर्काएपछि जहाज पूर्ण रुपमा हाम्रो नियन्त्रणमा थियो । तर, कहाँ गएर अवतरण गर्ने भन्ने तय नहुँदा जहाज आकाशमा चिलजसरी निरुद्देश्य उडिरहेको थियो ।
नगेन्द्रले बारम्बार यात्रुलाई धम्की दिइरहेका थिए, ‘कोही उठ्यो कि गोली हान्दिन्छु । नकराईकन आफ्नो सिटमा बस्ने ।’हाम्रो उत्तेजना र हतियारहरु देखेर जहाज, चालक र यात्रुहरुले आत्मसमर्पण गरिसकेका थिए । जहाजमा निस्तब्धता छाइसकेको थियो । कसैले एक शब्द बोल्ने हिम्मत गरेको थिएन । धेरैजसो यात्रु मूर्तिवत् थिए । कोही अाँखा चिम्लिएर बसेका थिए । कोही भने अाँखा चिम्लियो भने केही भइहाल्छ कि भनेझैँ गरी ट्वाल्ल अाँखा खोलेर बसेका थिए । सबैका ओठ सुकेका र अनुहार पहे“लो भइसकेका देखिन्थे । नगेन्द्र रिवल्भरको ट्रिगरमा अाैँला राखेर कसैलाई ताकेजस्तो गरी उभिएका थिए । अाँखा खुलै राख्नेहरुजति सबै एकाग्र भएर बन्दुकको नाल हेरिरहेका थिए । नगेन्द्रले जता बन्दुक फर्काउँथे, त्यसतर्फका यात्रु बन्दुकको नाल हेरेर का“पिरहेका हुन्थे । मेरा हातमा पनि त्यस्तै बन्दुक भएकाले मसँग कसैले अाँखा मिलाइरहेका थिएनन् । म सबैलाई सतर्कताका साथ नियालिरहेको थिएँ ।
म अत्तालिएर बाहिर–भित्र गरिरहेको यात्रुहरुलाई थाहा थियो । जहाज तल झर्ने र माथि जाने क्रम चलिरहँदा मैले एउटा यात्रुको कुर्सीलाई एक हातले पक्डेर उभिँदा बन्दुक बोकेको हातले उनको शरीरलाई ठोकिएछ । यात्रुले कम्पित स्वरमा भने, ‘तपाईंको हात का“पिरहेको छ, मेरो शरीरबाट बन्दुकको नाल हटाई दिनुपर्याे ।’उनको त्यो कम्पित आवाजले सबैको ध्यानाकर्षण भयो । यात्रुहरुले अाँखा चिम्लिए पनि कानलाई भने चनाखो राखेका रहेछन् । उनीहरुले बोल्ने मानिस र मेरो बन्दुकको नालतर्फ हेरेर केही भन्न थाले । जहाजमा आवाज बढ्न थालेपछि मैले सबैलाई शान्त रहन अनुरोध गर्दै चालकको कोठाभित्र पसेँ ।
पाइलटले मेरो अनुहार नहेरीकनै भन्न थाले, ‘जहाजमा अब धेरै इन्धन छैन । हामी विराटनगर पुग्न सक्छाैँ के गर्ने ? तपार्इं जे भन्नुहुन्छ, म त्यही गर्छु ।’मैले उत्तेजित हुँदै पाइलटलाई भनेँ, ‘अब विराटनगर फर्किएर आत्मसमर्पण गर्ने कुरै छैन । हामीले निर्धारित गरेको ठाउँमा पुग्ने सिवाय अरु विकल्प सोच्दै नसोच्नूस् । जहाज त जसरी नि फारबिसगन्ज पुर्याउनैपर्छ । जहाजको इन्धन सकिएछ भने हाम्रो यात्राको अन्त्य हुने नै छ । त्यसैले हामीलाई साथ दिनुबाहेक अर्को उपाय तपाईंसँग पनि छैन ।’
जहाजलाई फेरि कोसीको पुलतर्फ मोड्न अनुरोध गरेँ ।
त्यसपछि म ककपिटबाट बाहिर आएँ । चालक र सह–चालकहरुले हाम्रो प्रतिकार गर्ने प्रयत्न छाडेर जहाजलाई नै व्यवस्थित गरिरहेका थिए । वसन्तको हातमा सैनिकले प्रयोग गर्ने शक्तिशाली ३६ ग्रिनेड थियो भने नगेन्द्र र मेरो हातमा ३२ रिवल्भर देखेर पुरुष परिचारक जहाजको ढोकानेर गएर निर्जीव भई उभिएका थिए । उनी आफ्नो दुवै हातले जहाजको ढोकाको फित्ता समातेर एकोहोरो बाहिरतर्फ हेरिरहेका थिए । केही यात्रु भने साउती स्वरमा एक–आपसमा बोलेको सुनिन्थ्यो । १० मिनेटपछि हामी फेरि कोसी ब्यारेजमाथि उडिरहेका थियाैं । जहाजको बीचमा उभिएका नगेन्द्रले यात्रुलाई शान्त पार्ने प्रयास गरिरहेका थिए । म निरन्तर उनको आवाज सुनिरहेको थिएँ ।
‘यस अपहरणमा तपाईंहरुलाई केही हुँदैन । जहाजबाट राष्ट्र बैंकको पैसा काठमाडाैँमा जम्मा गर्न लगिँदैछ । हाम्रा नेता बीपी कोइरालाले घोषणा गर्नुभएको सशस्त्र क्रान्तिका लागि हामी यो पैसा लुट्दैछाैँ । त्यसपछि तपाईंहरु छुट्नु हुनेछ ।’ वास्तवमा त्यो नेपाली काङ्ग्रेसको नेतृत्वमा पञ्चायती शासनविरुद्ध भइरहेको राजनीतिक विद्रोहको एउटा हिस्सा थियो । हामी सशस्त्र संघर्षको चरणमा थियौं र त्यसलाई सञ्चालन गर्न पैसा चाहिएको थियो । त्यसैबेला नेपाल राष्ट्र बैंकले भारु ३० लाख विराटनगरबाट काठमाडाैंतर्फ लैजान खोजेको थाहा पाएपछि हामीले बीपी र गिरिजाप्रसाद कोइरालाको निर्देशनमा त्यो विमान अपहरण गरेका थियौं ।
मैदान छेउको ठूलो सिमलको रुखको टुप्पामा रातो कपडा पनि देखियो । मैले पाइलटलाई भनेँ,‘यो मैदानमा विहार सरकारका साना जहाज उत्रिने गरेका छन्। यो जहाज पनि सानै छ, यहीँ उतार्नुपर्छ।’ चालकले मतिर फर्केर हेर्दै भने,‘एक राउन्ड लगाएर लोकेसन हेर्नुपर्छ। म जसरी पनि उतार्ने प्रयास गर्छु।’
आफूहरुको उद्देश्य बताएपछि नगेन्द्रले बैंकका कर्मचारी दिलिपजंग थापासँग विराटनगरबाट काठमाडाैँ राष्ट्र बैंकमा जम्मा गर्न दिएको पत्र पनि मागेर लिए । उनी सुरुबाटै बैंकका ती कर्मचारीको सिटछेउ बसेका थिए । त्यसपछि यात्रुहरु शान्त देखिए । म ककपिटभित्र गएँ । जहाजका चालकले भन्न थाले, ‘हामी ब्यारेजबाट अगाडि उड्दै छाैँ । यहाँ नजिक एउटा सानो मैदान छ । त्यहाँ ल्यान्ड गरेर यात्रुलाई बचाउन सकिन्छ, हामी पनि बाँच्न सक्छाैँ ।’
उनको कुरा सुनेर मलाई झनक्क रिस उठ्यो । मैले उत्तेजित भएर भनेँ, ‘तपाईंलाई बाँच्न मन छ, बचाउन मन छ भने मैले भनेको मान्नूस् । किन यहाँ र त्यहाँ भनेर मेरो ध्यान भाँड्न खोज्नुहुन्छ ?’म पाइलटनजिकै उभिएको थिएँ । बाहिर हेर्दा जहाज त कोसी पश्चिमको एउटा सानो सहरमाथि पुगेको देखियो । मैले पाइलटको कठालो समाते“, ‘किन अगाडि बढेको ?’उनले मलिन स्वरमा भने, ‘जहाज आकाशमा उडिरहने वस्तु हो । बसजस्तो एक ठाउँमा रोक्न सकिँदैन । ल म फेरि उतै फर्काउँदै छु, तपाईं जे भन्नुहुन्छ, त्यही गर्छु ।’
त्यसपछि म फेरि ककपिटबाहिर निस्किएँ । हाम्रो तनाव बढिरहेको थियो । पाइलटले पहिले नै इन्धन धेरै छैन भनिसकेका थिए । उत्रिनुपर्ने ठाउँ कहाँ हो, पत्तै लगाउन सकिएको छैन । जहाजमा निर्दोष मानिस छन् । हामीले यिनको जीवनसँग खेलवाड गरिरहेका छाैँ भन्ने लाग्न थालिसकेको थियो । जहाज पुलमाथि उडिरहेको थियो । कसोकसो बाहिर हेर्दा मेलै पुल नजिकैबाट रेलको लिक पूर्वतिर गएको देखेँ । मलाई झट्ट याद आयो, यो लिक त फारबिसगन्ज जान्छ !म एकदमै खुसी हुँदै चालकको कोठामा पसेँ र भनेँ, ‘अब फारबिसगन्ज पत्ता लगाउन सकिन्छ । तपाईं जहाजलाई तल देखिएको रेलको लिक माथि–माथि उडाउनूस् । त्यो गएर फारबिसगन्जको रेल्वे स्टेसनमा मिल्छ । त्यहीँबाट हामी उत्रने मैदान पनि देखिनेछ ।’
यति भन्दै मैले चालकको कुर्सीको हातामा बस्ने कोसिस गरेँ । तर, बस्नै सकिनँ । मेरा खुट्टा एकदमै शून्य भइसकेका थिए । बस्न खोज्दा घु“डा नै दोब्रिएन । खुट्टा नदोबारी म त्यहाँ अडिएँ । उठ्न खोज्दा उठ्नै सकिनँ ।
मर्ने डरले बाँच्ने उपाय सोच्न एकाग्र हुँदा मान्छेका अन्य अङ्गलाई मस्तिष्कले अरु आदेश दि“दो रहेनछ । त्यसबेला मलाई कसैले पक्रिन खोजेको भए ममा प्रतिकार गर्ने शक्ति थिएन । दायाँ हातको पेस्तोललाई अाैँलाले यसरी कसेर पक्डिएको थियो कि मुठ्ठी खोल्नै सकिरहेको थिइनँ । पेस्तोलको लिभरलाई दबाउन परेको भए चल्ने अवस्था थिएन । लामो समयदेखि दायाँ हातले समातेको हतियार बायाँ हातमा लिन खोज्दा मुठ्ठी खुलिरहेको थिएन । देब्रे हातको बलले अाैँला खोलेर पेस्तोल निकाल्नु परेको थियो ।
चालकले जहाजलाई निकै तलबाट उडाइरहेका थिए । पाँच मिनेटपछि नै हामी फारबिसगन्ज रेल्वे स्टेसनको प्लेटफर्ममाथि पुग्याैँ । म मूर्तिवत् उभिरहेको थिएँ । स्टेसनको पूर्वमा रहेको मैदानमाथि जहाज पुग्यो । मैदान छेउको ठूलो सिमलको रुखको टुप्पामा रातो कपडा पनि देखियो । मैले पाइलटलाई भनेँ, ‘यो मैदानमा विहार सरकारका साना जहाज उत्रिने गरेका छन् । यो जहाज पनि सानै छ, यहीँ उतार्नुपर्छ ।’ चालकले मतिर फर्केर हेर्दै भने, ‘एक राउन्ड लगाएर लोकेसन हेर्नुपर्छ । म जसरी पनि उतार्ने प्रयास गर्छु ।’ अनि, उनले जहाज घुमाउन थाले । जहाज घुमाउँदा घुमाउँदै क्याप्टेनले सोधे, ‘के हो तलका मान्छेका हातमा पनि ग्रिनेड देखिन्छ । कृपया जहाज खाली गरेर मात्र एक्सन...।’
मैले तत्कालै भनेँ, ‘हामी उत्रिएर सामान राखेको ठाउँबाट राष्ट्र बैंकको बाकस निकालेपछि तपाईंले जहाजलाई तुरुन्तै उडाउनुपर्छ । जहाजलाई नोक्सान पुर्याउने हाम्रो योजना छैन । सबै यात्रु लिएर विराटनगर फर्किएर जाने मानसिकता बनाउनुहोस् ।’जहाजको चक्का झारेर चालकले उत्रने तयारी गरे । जहाजले मैदानको बीचमा जमिन छोएको आवाज आयो । मैदानको लम्बाइ उत्तर–दक्षिण थियो । उत्तरतिरको अन्तिम सीमामा पुर्याएर जहाजलाई चालकले रोके । जहाज रोकिएपछि यात्रुहरु उठ्न खोजे । तर, नगेन्द्रले बन्दुक माथि उचालेर कसैलाई पनि सिटबाट नउठ्न हिदायत दिएपछि सबै बसे । नगेन्द्र र वसन्त हातमा हतियार लि“दै उत्रनका लागि गेटमा पुगे । अघि मलाई समात्न झम्टने जहाजका कर्मचारीले नै ढोका खोलिदिए ।
मैले चालकलाई फेरि भनेँ, ‘जहाजको इन्जिन चालू राख्नुहोस् र तलका साथीले सामान निकालेपछि तपाईंलाई जहाज उडाउने इसारा गर्नेछन् । अटेर गर्नुभयो भने उनीहरुले जे पनि कारबाही गर्न सक्छन् ।’पाइलटलाई यति भनेर म जहाजबाट झर्न ढोकातिर गएँ । म ढोकाको सिँढीमा पुग्दै थिएँ, जहाजका यात्रु एकै स्वरमा कराए, ‘अब हाम्रो के हुन्छ ? हामी पनि यहीँ झर्छौं ।’मैले सम्झाउँदै भनेँ, ‘पाइलटसँग मेरो कुरा भइसकेको छ । तपाईंहरुलाई केही हुँदैन । यो जहाज अब यहाँबाट विराटनगर नै फर्किन्छ । तपाईंहरु सकुशल पुग्नुहुन्छ । बरु, बाहिर निस्किन खोज्नुभयो भने बाहिर भएका हाम्रा साथीले कारबाही गर्न सक्छन् ।’
यति भनेपछि कोही निस्किन खोजेनन् ।
मैले फेरि भनेँ, ‘हाम्रो उद्देश्य तपाईंहरुलाई बन्धक बनाउने र खतरामा पार्ने कदापि होइन ।’ म सिँढीबाट झर्न थालेँ । केही यात्रु उठेर फेरि कराए, ‘आकाशमा उडिरहँदा हामीलाई बाँच्ने आशा थिएन । अहिले जहाज जमिनमा छ, हामीलाई बचाउनूस् ।’
उनीहरुले यसो भनिरहँदा म जमिनमा उत्रिइसकेको थिएँ । त्यहाँ पहिल्यैदेखि अरु साथीहरु हामीलाई पर्खेर बसेका थिए । जहाज अवतरण गर्नासाथ उनीहरुले राष्ट्र बैंकका सिलबन्द तीनवटा बाकस झिकेर जिपमा राखे, जसमा भारु ३० लाख थियो ।
मैले कर्मचारीलाई ढोका बन्द गर्न इसारा गर्दा गर्दै उसले ढोका लगाइहाल्यो । विराटनगरबाट ८ः१५ मा उडेको जहाज आकाशमा धेरै बेर रुमल्लिँदै करिब ९ बजे मात्र फारबिसगन्जमा उत्रिएको थियो । सीधा नाप्ने हो भने विराटनगरबाट फारबिसगन्जको दूरी जम्मा ३० किलोमिटरजति हो । तर नक्सा नभएर आकाशमा रुमल्लिँदा हामीलाई ४५ मिनेट लागेको थियो । जहाजबाहिर अगाडिपट्टि विनोद अर्याल उभिएका थिए । उनको हातमा ग्रिनेड थियो । उनले इसारा गरेपछि जहाज उड्नका लागि फारबिसगन्जको घा“से मैदानमा गुड्न थाल्यो । र, छिनभरमा आकाशमा पुग्यो । त्यहाँबाट उत्तरतिरको दिशा पक्डेर आकाशमा कतै बिलायो । हामी भने मैदानमा तैनाथ गरिएका जिप चढेर फारबिसगन्जबाट टाढा अररियातिर लाग्याैँ । ३० मिनेटको त्यो दुस्साहसले एउटा नयाँ इतिहास रचिसकेको थियो ।
(किताब पब्लिसर्सबाट प्रकाशोन्मूख सुवेदीको संस्मरण ‘विमान विद्रोह’को अंश।)