राजनीति पेशा कि समाजसेवा भन्ने बहस विकसित मुलुकमा सुनिदैन। राजनीति कहिल्यै पनि पेशा हुन सक्दैन भन्नेमा उनीहरु प्रष्ट छन्। अन्य कुनै पेशा वा व्यवसायमा जमेर काम गरेको कुनै व्यक्ति एक पटक राजनीतिमा आएर केही समय काम गरेपछि पुनः आफ्नो पुरानै व्यबसायमा फर्कने चलन पनि पाइन्छ। तर नेपाल जस्तो खासगरी दक्षिण एसियाका मुुलुकका नेताहरुका लागि यस्ता दृष्टान्त अनौठो लाग्छ। हामीकहाँ कुनै राजनीतिकर्मीलाई के पेशा गर्नुहुन्छ भनेर सोध्दा बिना हिच्किचाहट भन्ने गर्छन्, राजनीति।
खासमा राजनीतिलाई सामाजिक सेवाका रुपमा स्थापित गर्नुपर्छ भन्ने मेरो मान्यता हो। म त्यहि मान्यताका साथ राजनीतिमा बामे सर्र्दै अघि बडेकी छु। हामीकहाँ राजनीतिलाई पेशा ठान्नेहरुका कारण उनीहरुप्रतिको सामाजिक बुझाई र हेराई सकारात्मक छैन। त्यसकारण राजनीतिप्रतिको उदासिनता एवं शिथिलता हटाई नयाँ उर्जा, नयाँ जोस र नयाँ जागरका साथ युवापुस्तालाई अघि बढाउनु आजको प्रमुख आबश्यकता हो। त्यस्तो नेतृत्वले मात्र नागरिकका हक, अधिकार स्थापित गर्न सक्छ। नगरिकका पक्षमा आफूलाई उभ्याउन सक्छ। त्यस्तो नेतृत्वले पानीको फोका जस्तो तत्काल हराउँदैन। नागरिक अधिकारका पक्षमा अनवरत संघर्ष गर्दछ।
यसका साथै कार्यकर्ताको भावना बुझ्ने सक्ने पनि हुनुपर्दछ। कुनै पनि व्यक्ति आफैमा केही होइन। सामुहिकतामा बिश्वास गर्ने र एकताका साथ अगाडि बढ्नु नै नेतृत्वको प्रमुख गुण हो। त्यस्तो नेतृत्वले सबैको विश्वास आर्जन पनि गर्न सक्छ।
अबको नेतृत्व
नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीको नेतृत्व हाँक्ने नेता गतिशील र चलायमान हुनैपर्छ। पुरानो ढर्राबाट अबका दिनमा पार्टी चल्न सक्दैन। पाका पुस्ताको अनुभब लिएर उनीहरुलाई सम्मानका साथ उचित स्थान दिएर नेतृत्व युवा पुस्ताले हाँक्न सक्नुपर्छ। त्यस्तो नेतृत्वले घरेलु मात्र नभई बिश्व परिबेशलाई बुझेको हुनुपर्छ। नागरिकका न्युनतम आवश्यकता के हुन् तिनको पहिचान गरी समस्या समाधानका दिशामा अघि बढ्नैपर्छ। होइन भने भोलिका दिनमा त्यस्तो नेतामात्र होइन, पार्टीकै औचित्यमाथि प्रश्न उठ्न सक्छ।
२०४८ सालको दोस्रो संसदीय चुनाबपछि नेपाली समाजमा राजनीतिले जनस्तरमै बिभाजनको रेखा कोरेको थियो। कमजोर राजनीतिक चेतनाका कारण बिभाजनको रेखा कोरिएको थियो। जतिबेला दलहरुका बीच यतिधेरै दुष्मनी बढेको थियो कि फरक बिचारधाराका मानिसलाई अछुत व्यबहार गरिन्थ्यो। मेलापात र पर्ममा जानेमात्र होइन, मलामी, जन्तीसमेत बहिष्कार गर्ने हदसम्मको काम भएको थियो। तर आजको पुस्तामा कम्तिमा त्यो हदको व्यबहार देखिदैन। अर्थात् फरक बिचारको सम्मान गर्ने सँस्कृतिको विकास भएको छ।
पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालको संविधानमै उल्लेख गरिएको एउटा बिषय हो, राज्यका हरेक क्षेत्रमा समावेशी समानुपातिक सहभागिता। मूलधारको राजनीतिमा आउन नसकेका बर्ग र क्षेत्रको प्रतिनिधित्वको सुनिश्चितताका लागि यस्तो सिद्धान्त स्वीकारिएको हो।
जनसंख्याको आधारमा हेर्दा नेपाल युवाबाहुल्यता भएको देश हो। त्यसकारण पार्टीमा युवापुस्तालाई आकर्षित गर्नका लागि उनीहरुका मुद्धालाई सम्बोधन गर्नैपर्छ। पढालेखा युवाहरु रोजगारीका लागि बिदेशिने क्रम बढ्दो छ। सक्षम र दक्ष यो जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनु पर्दछ। त्यसका लागि उद्यमशीलतामा जोड दिनुपर्छ।
नेपालको सबैभन्दा पुरानो र लोकतन्त्रको पर्याय पार्टी हो नेपाली कांग्रेस। तर नेपाली कांग्रेस यतिबेला इतिहासकै कठिन क्षणमा उभिएको छ। कम्युनिष्ट पार्टीका नेताहरुका कारण लोकतन्त्रको भबिश्यमाथि बेलाबेलामा प्रश्न खडा भएका छन्। यस्तो अबस्थामा लोकतन्त्रको मियो पार्टी कांग्रेसले जनतालाई भरोसा दिलाउन सक्नुपर्छ। त्यो भरोसा दिलाउने मूल दायित्व पार्टी नेतृत्वको हो। तर कांग्रेस नेतृत्व भरोसा दिलाउनका लागि चुक्दै गएको छ।
झण्डै आठ दशक लामो इतिहास भएको नेपाली कांग्रेस यतिबेला १४ औं महाधिबेशनको तयारीमा छ। मंसिर ९ देखि १३ गतेसम्मका लागि महाधिवेशनको मिति तय गरिएको छ। सबैजसो हिमाली जिल्लाको अधिवेशन सम्पन्न भएको छ भने तराई, मधेश र पहाडी जिल्लाहरुको बाँकी छ। महाधिवशेन प्रतिनिधिमा युवाबाहुल्यता देखिएको छ। राजनीतिमा आफ्नो भबिश्य देखेको युवापुस्ताले अबका दिनमा हस्तक्षेपकारी भूमिका निर्बाह गर्नुपर्छ। पुरानो सोच भएको बुढो पुस्ताबाट अब पार्टी अघि बढ्न सक्दैन। पार्टीमा देखिएको बिभाजनको रेखा मेट्नका लागि नेतृत्वमा नयाँ पुस्ता आउनै पर्छ।
खड्का नेपाली कांग्रेसकी नेतृ हुन्