मूल्यका हिसाबले नेपालमा प्रयोग हुने इन्टरनेट दक्षिण एसियाकै महँगो पाइएको छ।
चर्चित म्यागेजिन ‘दी इकोनोमिस्ट’ले हालै सार्वजनिक गरेको समावेशी इन्टरनेट सूचक (इनक्लुसिभ इन्टरनेट इन्डेक्स २०१९) प्रतिवेदनमा नेपालमा प्रयोग हुने इन्टरनेट विश्वका अन्य देशहरूको तुलनामा पनि महँगो रहेको पाइएको छ।
प्रतिवेदनमा समेटिएका इन्टरनेटसम्बन्धी विभिन्न वर्गीकृत सूचकमध्ये मूल्यका हिसाबले विश्वका एक सय देशको सूचीमा नेपाल ८४औँ स्थान पारेको छ। त्यस्तै प्रतिवेदनमा समेटिएका पाँचवटा दक्षिण एसियाली मुलुकमध्ये नेपाल पुछारमा छ। सम्बन्धित देशको आयस्तर र इन्टरनेटको मूल्यका आधारमा यो सूची तयार गरिएको प्रतिवेदनमा उल्लेख छ।
दक्षिण एसियाली देशमध्ये भारतमा इन्टरनेटको मूल्य सबैभन्दा सस्तो रहेको छ। एक सय मुलुकमध्ये भारत दसौँ स्थानमा छ। त्यसपछि श्रीलङ्का रहेको छ। समग्रमा भने श्रीलङ्काले ४३औँ स्थान पाएको छ। ४७औँ स्थानमा रहेको पाकिस्तान दक्षिण एसियाली मुलुकको सूचीमा भने तेस्रो स्थानमा छ। प्रतिवेदनमा बङ्गलादेश ७०औँ स्थानमा रहेको छ।क्यानाडा विश्वमै इन्टरनेट सस्तो भएको मुलुक सावित भएको छ। संयुक्त राज्य अमेरिका, फ्रान्स, स्विडेन र बेलायत सस्तो इन्टरनेट भएका मुलुकको सूचीको क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन्। अफ्रिकी मुलुक कङ्गो सबैभन्दा महँगो इन्टरनेट भएको देशमा परेको छ। नाइजर, मलावी, लाइबेरिया र सियरा लियोन महँगो इन्टरनेट भएका मुलुकमध्ये अन्तिममा क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन्।
प्रतिवेदनमा इन्टरनेटको समावेशीता छुट्याउन विभिन्न चारवटा सूचक प्रयोग गरिएका छन्। मूल्यबाहेक इन्टरनेटको उपलब्धता, सान्दर्भिकता र यसको प्रयोग योग्यतालाई आधार बनाइएको छ। इन्टरनेटको उपलब्धताको हिसाबले अध्ययनमा समेटिएका एक सय देशमध्ये नेपाल ७४औँ स्थानमा छ। सान्दर्भिकताको सूचीमा नेपाल ६४औँ स्थानमा पर्न सफल भएको छ। चार सूचकमध्ये इन्टरनेटको प्रयोग योग्यताको सूचीमा नेपाल तुलनात्मक रुपमा अगाडि छ। यो सूचीमा नेपाल ४१औँ स्थानमा छ। इन्टरनेटमा आबद्ध हुनसक्ने क्षमता, सीप, त्यसको स्वीकार्यता र सहयोगी नीतिका आधारमा इन्टरनेटको प्रयोग योग्यता मापन गरिएको प्रतिवेदनमा उल्लेख छ। नीतिगत व्यवस्थाको हिसाबले नेपालले २३औँ स्थान प्राप्त गरेको छ।
इन्टरनेटको समावेशीताको समग्र सूचीमा भने नेपाल ७२औँ स्थानमा छ। समावेशीतालाई पनि प्रतिवेदनमा मुलुकको आयस्तरको आधारमा छुट्याइएको छ। न्यून आय भएका मुलुकमध्ये समावेशी इन्टरनेटको हिसाबले नेपाल पहिलो स्थानमा छ। नेपालपछि रुवान्डा, तान्जानिया, सेनेगल, युगान्डा, बेनिन, इथियोपिया, माली, मदागास्कर, बुर्किना फासो क्रमशः दोस्रोदेखि दसौँ स्थानमा परेका छन्। कुल एक सय अङ्कमध्ये नेपालले यो सूचीमा ६०.९ अङ्क प्राप्त गरेर पहिलो भएको हो। गाेरखापत्र दैनिकमा खबर छ।