नेपालको पहिलो भू–उपग्रह (स्याटेलाइट) ‘नेपाली स्याट–१’ ले नियमितरूपमा ग्राउन्ड स्टेसनसँग सम्पर्क गर्न थालेको छ। स्याट–१ ले पठाएको सूचना, तथ्यांक र अन्य विवरण स्टेसनले नियमित रेकर्ड गर्न थालेको हो।
स्याटेलाइटमा जडान भएको ब्याट्रीको अवस्था, पृथ्वीलाई फन्को लगाउन लाग्ने समयावधि, पृथ्वीसँगको दूरी, सो उपकरण रहने स्थान आसपासको तापक्रमजस्ता सूचना ग्राउन्ड स्टेसनले प्राप्त गरिरहेको छ।
ग्राउन्ड स्टेसन ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा स्थापना गरिएको छ।स्याट–१ ले डेढ घण्टामा पृथ्वीलाई एक फन्को लगाउने गरेको र एक दिनमा १६ पटक पृथ्वीलाई चक्कर लगाइरहेको विवरण स्टेसनलाई प्राप्त भइरहेको नास्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले बताए
‘गत बिहीबारयता उसको गतिविधि नियमितरूपमा नियालिरहेका छौं, एक सेकेन्डमा सात किलोमिटरको गतिमा स्याटेलाइट घुमिरहेको पाइएको छ’, उनले भने– ‘अहिलेसम्म कुनै प्राविधिक गडबडी देखिएको छैन।’
ढकालका अनुसार पृथ्वीबाट (सबैभन्दा नजिकको दूरी) ४ सय २० किलोमिटर उचाइमा स्याट–१ ले फन्को लगाइरहेको छ। शनिबार बिहान ४ बजेर ४० मिनेट हाराहारीमा पूर्वी नेपालको भू–भाग हुँदै बाहिरिएको स्याट–१ आइतबार राति ८ बजेर ३५ मिनेटमा नेपालकै सुदूरपश्चिमी भेगको अन्तरिक्षलाई छोएर बाहिरिएको छ।
ग्राउन्ड स्टेसनका कार्यक्रम प्रमुख रोशन पाण्डेका अनुसार स्याटेलाइटको प्रस्ट संकेत आइतबार राति आठ बजेर ४० मिनेट आसपासमा देखिएको छ। उनले प्रस्ट्याउँदै भने– ‘नेपालको भूगोल र आसपासबाट स्याट–१ ले फन्को लगायो भने सूचना लिन सजिलो हुन्छ, अहिलेसम्मको अवस्था हेर्दा दुई दिनमा नेपाल नजिक भएर स्याट–१ चलिरहेको छ।’नेपाल समाचारपत्रमा खबर छ।