डोल्पाको टेलिफोन सेवा गएरातिदेखि अवरुद्ध भएको छ । टेलिफोन सेवा सञ्चालन नहुँदा जिल्लाको सञ्चार सेवा विच्छेद भएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका २, लइटी डाँडामा रहेको रिपिटर टावरमा खराबी आएपछि गएरातिदेखि सदरमुकाम दुनै र अन्य ठाउँको टेलिफोन सेवा अवरुद्ध भएको हो । यही टावरबाट डोल्पाका विभिन्न ठाउँमा रहेका टावरमा सञ्चार प्रवाह हुँदै आएको थियो ।
सदरमुकाम दुनैबाट बिहानै प्राविधिकको टोली लइटी डाँडामा रहेको टावरमा आएको खराबी पत्ता लगाउने हिंडेको नेपाल टेलिकम डोल्पाले जनाएको छ । फोन सेवा अवरुद्ध हुँदा यहाँका सबै ठाउँमा सम्पर्क गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले बताए ।
टावर भएको स्थानमा पुग्न ५ घण्टा लाग्ने भएकाले जतिसक्दो समस्या पत्ता लगाएर मर्मत गरिने टेलिकमले जनाएको छ । महिना दिनभित्र डोल्पामा दुईपटक टावरमा समस्या आएपछि फोन सेवा अवरुद्ध भइसकेको छ । –रासस