विश्वप्रशिद्ध अन्नपूर्ण पदमार्गमा पर्ने मनाङको हुम्डे विमानस्थलमा नियमित उडान नहुँदा स्थानीय निराश बनेका छन्। वर्षायाममा धावनमार्ग हिलो हुने भएकाले उडान भर्न कठिनाइ भएपछि करोडौँ रुपैयाँ खर्च गरेर स्तरोन्नति गरेपनि विमानले उडान भर्न सकेको छैन।
हिमालपारीको जिल्ला मनाङको हुम्डे विमानस्थलमा चार वर्षअघि ९ करोड रुपैयाँ लागतमा विमानस्थलको ९ सय मिटर लामो धावनमार्गलाई स्तरोन्नति गरिएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले साघुँरो अवस्थामा रहेको विमानस्थलको धावनमार्ग मर्मत र कालोपत्रे भएपछि हरेक महिना उडान भर्न सकिने जनाएको थियो। स्तरोन्नति र मर्मत सम्पन्न भएको चार वर्ष बित्दा पनि कुनै विमान कम्पनीले मनाङमा नियमित उडान नभएको ङिस्याङ गाउँपालिका हुम्डेका स्थानीय पाल्देन गुरुङले बताए।
प्राधिकरणमा धेरैपटक अनुरोध गर्दा पनि मनाङमा उडान हुन सकेको छैन। ६ सय मिटरको धावनमार्ग विस्तार गरी ९ सय मिटर पुर्याएर विमान अवतरणका लागि सजिलो बनाउँदा पनि विमान नआएको भन्दै स्थानीय रुष्ट भएका छन्। मनाङको एकमात्र विमानस्थलमा हवाइजहाज नचल्दा मनाङमा कर्मचारी आउन निकै समस्या भएको राष्ट्रिय वाणिज्य बैँक मनाङ शाखा प्रमुख सन्तोष कुमार ठाकुरले बताए। असारको समयमा लमजुङ सदरमुकाम बेसीशहरवाट मनाङ आउन जोखिम मोलेर आउनुपर्ने बाध्य रहेको ठाकुरले बताए।
सामुन्द्रीक सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा रहेको हुम्डे विमानस्थल यसअघि हप्ताको दुई पटक उडान हुँदै आएको थियो। मनाङमा मोटर पुगेपछि यात्रु अभावका कारण विमानस्थल बन्द भएको अनुमान गरिएको छ। यद्यपी मनाङको सडक यात्रा पनि सजिलो नभएकाले विमान सुचारु गर्न पटक–पटक सम्वन्धित निकायमा पत्राचार गरे पनि कुनै चासो नदेखाएको ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष मेङ्खु गुरुङले बताए।
नेपाल वायु सेवा निगमले मनाङ–पोखरा र पोखरा–मनाङको उडान भर्न २०३९ साल असोजबाट सुरु गरेको हो। विमानस्थलमा विमान नआएपछि कर्मचारी पनि बस्दैनन। मनाङमा रहेका कर्मचारी, शिक्षक, ब्यवसायी आदिले हवाइ सेवा प्रयोग गर्दै आएका थिए। विमान सेवा बन्द भएपछि मनाङमा उत्पादन हुने स्याउ, जडिबुटी आदि निर्यातका लागि पनि समस्या हुने गरेको स्थानीयले बताएका छन्।