नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० को अवसरमा डेनमार्कमा रहेका नेपालीहरुले यहि सेप्टेम्बर १० मा बिशेष कार्यक्रमको आयोजना गर्दैछन्।
एनआरएनए वुमन फोरम डेनमार्कको आयोजनामा तीज मार्फत दिदी बहिनीहरुमा हौसला प्रदान गर्न तथा डेनमार्कको नेपाली समाजलाई डेनिस समाजसंग जोड्नका लागि कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक एनआरएनए डेनमार्क वुमन फोरम कोर्डिनेटर लक्ष्मी बेलवासे जानकारी दिइन्। कार्यक्रममा सांगीतिक प्रस्तुतीका लागि नेपालबाट गायिका मल्लिका कार्की आएकी छन् ।
स्थानीय भाल्भी कल्चर हाउसमा दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म हुने कार्यक्रममा सफलतापूर्वक सर्बोच्च शिखर सगरमाथा आरोहण गरेकी बिश्वकी ३५ औं र स्केन्डेभियनकै पहिलो महिला लिनी गामेलगोर्ड सहभागी हुदैछिन् । १० मे १९९६ मा उनले सगरमाथाको सफल आरोहण गरेकी थिइन्। कार्यक्रम संयोजक बेलबासेका अनुसार लिनी लेखक अनि मोटिभेसनल स्पिकर समेत हुन्।
यसैगरी, कार्यक्रममा कोपेनहेगेन नगरपालिका नगर परिषद् सदस्य लाउरा लोसेन्भिङ पनि सहभागी हुदैछिन्। लाउरा नागरिक सल्लाहकार समिति प्रमुख तथा बालबालिका तथा युवा समिति सदस्यका साथै सत्तारुढ दल सोसल डेमोक्रेटिक पार्टीको कोपनहेगन नगरपालिकाको पार्टी प्रवक्ता पनि हुन्।
कार्यक्रम संयोजक बेलबासेका अनुसार रोदोभर नगरपालिका एकीकरण परिषद् अध्यक्ष नेस्ला बारान पनि सहभागी हुनेछिन्।
एनआरएनए डेनमार्कको टिममा आबद्ध सहयोगीहरुले नेपालीलाई एक ठाउँमा जोड्न उल्लेखनीय भूमिका निर्वाह गरेको वुमन कार्डिनेटर बेलबासेले बताइन्। कार्यक्रम सफल बनाउन सिंगो एनआरएनए टिम लागि परेको पनि उनले बताइन्।