कवि पुरुषोत्तम दाहालको काला बादलमा उज्याला पाइला कविताको बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच बिमोचन गरियो।
पूर्वमन्त्री तथा साहित्यकार नरहरि आचार्यले बहुमुखीप्रतिभा पुरुषोत्तम दाहालको प्रतिभाबाट आफू पहिलेदेखि नै धेरै प्रभावित भएको र विशेषगरी घटना र विचार कार्यक्रमले आफूलाई प्रभाव पारेको विचार राखेका थिए। उनले लेखेका कथा, कविता, निबन्ध, जीवनी, उपन्यास भन्दा पनि अलिखित घटना र विचार कृति नै उनको पर्यायकृति रहेको उल्लेख गरे।
डा.नारायण चालिसे, कलानिधि दाहाल, प्रा.डा. कुमार कोइराला, डा.शोभाकर पराजुली लगायतले राजनीतिक चक्रव्यूहमा चुर्लुम्मै डुबेका पुरुषोत्तम दाहाल राजनीतिबाट साहित्यमा फर्किनु ठूलो विजय भन्दै निरन्तर काव्यसाधनामा लागिरहन शुभकामना दिएका थिए।
कृतिसमीक्षक डा. देवी नेपालले सर्जक दाहालले साहित्यमा राजनीतिलाई कलात्मक ढङ्गले घुसाउन सफल भएको धारणा राखेका थिए। सुमन घिमिरे पुष्पाले समग्र वर्तमान राजनीतिक विसङ्गति तथा सामाजिक बेथितिप्रति व्यङ्ग्य गरिएको कविता संग्रहमा निराशाका काला बादल मडारिएको वर्तमान परिवेशमा उज्यालो आशाको अपेक्षा गरिएको बताए।
कवि दाहालले आफ्नो कवितासंग्रहमाथि भएका समालोचकीय चिरफार तथा बौद्धिकविचार विमर्शले उत्साही बनाएको र यसले आफूलाई साहित्यसाधनामा निरन्तर प्रेरित गर्ने धारणा राखेका थिए।
उनले वर्तमान बेथिति र विसङ्गतिप्रति निराशामात्र प्रकट नगरी नवीनपुस्ताप्रति पूर्ण विश्वास र भरोसा गर्दै ऊ मुस्कुराउँदा, जुनेली रातको प्रतीक्षामा, यौटा रूद्र यहाँ आऊ जस्ता कवितामा आशावादी एवम् जीवनवादी दृष्टि प्रक्षेपण गर्न खोजेको बताएका थिए।