सेतो नायल
नीलो नायल
अनि, निजर र बेन्यु
सबका सब बग्न छोडेर
टक्क अडेका छन् यतिखेर ।
मानौँ तिनीहरू बग्न बिर्सिए
शताब्दी पछि,
वा कसैले खियाएनन दाबो
वा कसैले हानेन् जाल
र छोडेनन् बल्छी ।
न पीडा, न सन्त्रास
त्यसैले मन लागेन बग्न पूर्ववत ।
: : :
लेक भोल्टा , चाड र भिक्टोरिया
सबमा न देखियो कुनै नीलो छाल
र, न सुसायो कुनै नयाँ गीत
सृष्टि स्तब्ध हो कि ?
यो कुनै मायाजाल ।
हतारमा...
टाउको माथि पसल बोक्दै, बेच्दै हिड्ने “निके“
सडक छेउ जोलोफ भात बेच्दै बस्ने “मामा उचे“।
सबका सब कहाँ टक्क अडिए होलान् ?
र,अलप भए होलान्
यो अजङ्गको सडकबाट ।
र, कहाँ ओत लागे होलान्
यो सहरको निर्जीव शून्यताबाट ।
: : :
सबका सब,
यहाँ नायलझैँ रोकिएका छन्
सबका सब यहाँ
चाडजस्तै सुस्ताएका छन
मानौँ,
अड्किएको समयझैँ
घुम्नै छोडेको पृथ्वीझैँ
टक्क रोकिएका छन्
बिग्रिएको घडीझैँ ।
: : :
मार्च ५,२०२०
:सेतो नायल , निलो नायल , बेन्यु र निजर- अफ्रिकामा बग्ने नदीहरु ।
:चाड , भोल्टा र भिक्टोरिया अफ्रिकाका तालहरु ।
:जोलोफ राइस अफ्रिकन भात ।
: निके र मामा उचे- नाम