प्रहरीलाई गाली गरेको भिडियो भाइरल हुनुका साथै व्यापक आलोचना भएपछि गायिका आस्था राउतले आफ्नो उक्त भिडियो डिलिट गर्दै माफी मागेकी छिन्।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जाने क्रममा चेकिङका क्रममा महिला प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै उनले प्रहरीमाथि गाली गरेको भिडियो आफ्नो फेसबुक पेजमा पोष्ट गरेकी थिइन्।
उक्त भिडियोमा उनले प्रहरीलाई डन्ठे, बन्दुके भन्दै आक्रोशपूर्ण भनाइ राखेकी थिइन्।
तर भिडियो भाइरल भएपछि उनले माफी माग्दै भिडियो डिलिट गरेकी छन्। उनले पछिल्लो पोस्टमा भनेकी छन्, ‘रिसको आवेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो, इनअप्रोप्रियट वर्ड्सहरुका लागि क्षमा चाहन्छु, प्रशासनको हेक्टिक कामहरुप्रति मलाई सधैं नै रेस्पेक्ट छ, तर सर्वसाधारणसँग बोल्दा तुच्छ व्यवहार नगरियोस्, गिभ रेस्पेक्ट, टेक रेस्पेक्ट।’
प्रहरीले आस्थाको भिडियो छानबिनका लागि सम्बन्धित निकायमा पठाइएको उल्लेख गर्दै आस्थाले भिडियोमा प्रयोग गरेको भिडियोप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ।
भिडियोमा उनले महिला प्रहरीले चेकिङका क्रममा आफ्नो ज्याकेट खोल्न लगाएको, आफूले लिएको कफी कतै राखिदिएको र फर्कने बेलामा ‘कफी लिएर जा’ भनेको उल्लेख गरेकी छन्। त्यसपछि आफूले कफी नलिइ हिड्न खोजेको र ती प्रहरीले ठूलो स्वरमा ‘कफी लिएर जा, नत्र तेरो ब्यागमा खनाइदिन्छु’ भनेको भिडियोमा बताएकी छिन्।
त्यस्तो दुव्र्यवहार भएपछि आफूले ‘जेसुकै गर’ भनेर अगाडि बढेको बताएकी छन्। उनले आफूमाथि भएको दुव्र्यवहार युनिफर्मको दादागिरी भएको र आफू महिलाबाटै पीडित भएको उल्लेख गर्दै यसबाट प्रहरी मेरो साथी भन्ने नाराको मजाक भएको बताएकी छन्।