‘गुन्डा नाइके’ भनेर चिनिने मनाङका राजीव गुरुङ पछि दीपक मनाङेकै नामबाट चर्चित बने। उनी राजधानीमा हप्ता असुली, गुन्डागर्दीमा संलग्न रहेको भन्दै पटक-पटक प्रहरीको फन्दामा परिसकेका व्यक्ति हुन्।
२०७४ मा भएको चुनावमा उनी मनाङबाट प्रदेशसभामा निर्वाचित भए। तर, उनकै हर्कतकै कारण झन्डै वर्षदिन प्रदेश सांसदको शपथग्रहण गर्न पाएनन्। उनी प्रहरीको फरार अभियुक्तको सूचीमा दर्जसमेत थिए। पछि जसोतसो सांसदको शपथ त खाए त्यो पनि विवादमुक्त भने हुन पाएन।
वास्तवमा उनलाई राजीव गुरुङभन्दा पनि दीपक मनाङेकै नामबाट चिन्ने बढी छन्। उनी वास्तविक नाम भन्दा पनि दीपक मनाङेबाट गुन्डागर्दीमा संलग्न हुने प्रहरीको बुझाइ छ। उनी मनाङबाट स्वतन्त्र रुपमा प्रदेशसभामा चुनिएर आए पनि अहिले नेकपाका सांसद छन्।
गुन्डा नाइकेबाट विस्तारै सांसद भई छवि सुधारमा लागेका मनाङेले अहिले पुन: आफ्नो परिचय बदलेका छन्। उनी आफ्नो परिचयलाई विविधता दिने भन्दै फिल्म निर्माणमा समेत हात हालेका छन्।
हो मनाङेले परिचय बदलेको अर्थात् नेपाली फिल्म 'पोई पर्यो काले' को निर्माता बनेर फिल्मी क्षेत्रमा पाइला राखेका छन्। मनाङे निर्माता रहेको यो फिल्म कात्तिक ८ गतेलाई प्रदर्शनको मित तय गरेको छ। उसो त ‘पोई पर्यो काले’को फस्टलुकसमेत सार्वजनिक भइसकेको छ। यही फस्ट लुकको पोस्टरमा निर्मातामा राजीव गुरुङ (दीपक मनाङे) र सरोज नेपालीको नाम रहेको छ।
शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मा सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टि श्रेष्ठको अभिनय देख्न सकिन्छ।
फस्टलुकले फिल्म पारिवारिक कथामा बनेको संकेत दिन्छ। किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्मको कार्यकारी निर्माता भने अमलादेवी राई छिन्। फिल्ममा शिव ढकालको छायांकन, लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य, तारा थापाको सम्पादन छ।