बलिउड अभिनेता शाहरुख खानले नेटफ्लिक्सका लागि उत्पादन गरेको टेलिभिजन श्रृंखला ‘बार्ड अफ ब्लड’ प्रति पाकिस्तानी सेनाले आपत्ति जनाएको छ।
अभिनेता खानले श्रृंखलाको ट्रेलर सार्वजनिक गरेलगत्तै पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफूरले ट्वीटरमार्फत् आपत्ती जनाएका हुन्। आगामी २७ सेप्टेम्बरदेखि प्रसारणमा आउने उक्त श्रृंखला जासुसी, प्रतिशोध, प्रेम कथामा आधारित रहेको बताइएको छ। ट्रेलरमा तीन भारतीय जासुसको कथा उल्लेख छ, उनीहरु एउटा उद्दार अभियानका लागि पाकिस्तानको बलोचिस्तान पुग्छन्।
प्रवक्ता गफुरले शाहरुख ‘बलिउड रोग’ ले ग्रसित भएको भन्दै सत्य हेर्न सुझाव दिएका छन्। उनले भनेका छन्, ‘शाहरुख खान बलिउड रोगमै रहिरहुन्, सत्यका लागि रअका जासुस कुलभुषण जाधव, विङ कमान्डर अभिनन्दन र २७ फेब्रुअरी २०१९ को स्थिति हेर्नुहोस्।’
जनरल गफुरले अगाडि भनेका छन्, ‘यसो गर्नुको साटो तपाईं जम्मुकश्मीरमा भइरहेका अत्याचार र नाजीवादप्रति आशक्त आरएसएसको विरोधमा आवाज उठाएर शान्ति तथा मानवतालाई प्रोत्साहित गर्न सक्नुहुन्थ्यो।’
गफुरलाई पाकिस्तानी ट्वीटर प्रयोगकर्ताले समर्थन गरेका छन् भने शाहरुखले भने कुनै प्रतिक्रिया जनाएका छैनन्।