२०६औं भानु जयन्तीका अवसरमा काठमाडौंमा आइतबार प्रभातफेरि निकालिएको छ । प्रभातफेरिमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई रथारोहण गराइएको थियो ।
भानु प्रतिष्ठान, काठमाडौंको आयोजनामा निकालिएको प्रभातफेरी प्रज्ञा भवनबाट सुरु भई पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै सोहीस्थानमा पुगेको थियो । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसमेत उपस्थित भएको कार्यक्रममा कविवर घिमिरेलाई अभिनन्दनसमेत गरिएको थियो ।
आजको दिनमा विश्वभरका नेपाली भाषीले विभिन्न कार्यक्रम आयोजना गरी भानुभक्त आचार्यलाई सम्झिरहेका छन् । नेपाली भाषाका आदिकवि आचार्यको आचार्यको जन्म तनहुँको चुँदी रम्घामा वि.सं १८७१ असार २९ गते भएको थियो ।
धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा भएको थियो । उनले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए । भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा उल्था गरेका थिए । रामायणलगायत प्रश्नोत्तर, भक्तमाला वधूशिक्षा, रामगीतालगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन् ।
उनको निधन १९२५ मा भएको थियो । भानु जयन्तीले विश्वका नेपालीलाई जोड्दै लगेको छ । साहित्यकार तथा कविले भानुभक्तलाई निकै श्रद्ध तथा आदर्श व्यक्तिका रुपमा मान्ने गर्छन् ।