नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
नेपाल तथा नेपालीभाषी रहेका विश्वभर विविध कार्यक्रम गरी आइतबार आचार्यको २०६औँ जन्मजयन्ती मनाइँने भएको हो । आचार्यको जन्म तनहुँको चुँदी रम्घामा वि.सं १८७१ असार २९ गते भएको थियो ।
धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा भएको थियो । उनले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए । भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा उल्था गरेका थिए । रामायणलगायत प्रश्नोत्तर, भक्तमाला वधूशिक्षा, रामगीतालगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन् ।
उनको निधन १९२५ मा भएको थियो। भानुजयन्तीको अवसरमा भानु नेपाल प्रज्ञा प्रतिष्ठानलगायत स्वदेश र विदेशमा रहेका विभिन्न संघ-संस्थाले कार्यक्रम गर्दै छन् ।