बैशाखको तातो पिएर
मातेको घाम
मदहोसमै बतासमा गुलेली हान्छ
र, झार्छ
कावा खाइरहेका जोडी ढुकुर
आगोको डल्लो झैँ
बलेको छ, ह्वारह्वार्ती
लप्काहरू गगनतिर तानिँदा छन्
धरातिर मच्चिँदा छन्
एक भारी आगो खन्याएर
बालिरहेछ, संवेदनशील भूमिको योनिद्वार
उम्लेको भुइँ
सडकको अलकत्र
तातोसँग घोलेर पिउँछ
अनि, अट्टहास गर्छ
किसान
भरिया
मजदुर
र, ज्यामीहरूको
मुर्झाउँदो दैन्यदिन हेरेर
उता सैलुङमा जस्तो
सुन्दर
शीतल
मुलायम
हरित
मनोरम
र, स्फटिक छैन
वसन्तको उल्लास
क्वैलीको कुहु कुहु
झरनाको छङछङ
हिमालको बलेँसीबाट
पिङ खेल्दै उड्ने हावा
चराहरूको चिरबिर
र, फर्याकफुरुक
कहाँ भुट्टाउनु ?
यतातिर
वन छ
अँगालाभरिका रुख छन्
तिनका टुप्पामा पलाएका
कलिला मुजुरा
रन्थनिएका छन्
सिठ्ठी फुकिरहने
‘लू’ को कर्णभेदी संगीतमा
भरदिन
न्याउली रोइरहन्छ
रुवाईमा मिसिएर
चेलीलाई माइती देश बिर्साउने
अनि,
किशोर वयमै
गाँसेको प्रेम–पिरती
किन चुडाउँ–चुडाउँ हुन्छ ?
सृष्टि गर्नु छ
हुर्काउनु छ
पाल्नु छ
प्रेम सिकाउनु छ
प्राणी जगतको
विनिर्माण गर्नु छ भने
ए घाम !
स्खलित हुँदै
हरक्षण छद्मरङमा
डबकाका डबका
किन खन्याइरहन्छस्
ती विषाक्त
‘लू’ रूपी वीर्यहरू