नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता २०७५ मा कृष्णकुमार महतोको ‘अप्पन’ चलचित्र प्रथम भएको छ ।
सैनिक मुख्यालय भद्रकालीमा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले महतोलाई नगद रु दुई लाखसहित पुरस्कृत गरे । प्रतियोगितामा गगनकुमार श्रेष्ठको ‘चाहना’ले दोश्रो स्थान र प्रद्युम्न मिश्रको ‘हातेमालो’ ले तेश्रो स्थान हासिल गरेको छ । श्रेष्ठ र मिश्रले क्रमश एक लाख पचास हजार र एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा चौथो हुने महेश्वर सम्बाहाम्फे र गणेशजंग रावलको ‘त्याग’र पाँचौं हुने शम्भु थापाको ‘साहसलाई सान्त्वना पुरस्कारस्वरुप जनही रु २५ हजार रुपैया प्रदान गरिएको छ । कार्यक्रममा प्रधानसेनापति थापाले नेपाली सेनासम्बन्धी विभिन्न जानकारीमूलक मोबाईल एप्सको समेत शुभारम्भ गरेका थिए ।
प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्रहरु उत्पादन गर्न उल्लेखनीय भूमिका खेल्ने एवं नेपाली चलचित्र क्षेत्रमा अग्रसर, स्थापित तथा नवप्रवेशी कलाकार र चलचित्र निर्माताहरुलाई चलचित्र निर्माण गर्न प्रोत्साहित गर्नुको साथै नेपालको कला, संस्कृति र पहिचानलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।