नेपाली राष्ट्रिय पुरुष फुटबलका अन्जन विष्ट र भलिबलकी अरुणा शाहीले १९ औं संस्करणको एनएसजेएफ स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच अन्जनलाई वर्ष पुरुष खेलाडी अवार्ड प्रदान गरेको हो ।
पुरुषतर्फका विजेता अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पार्दै यो अवार्ड जिते ।
अञ्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनलमा पुर्याउन मद्दत गरेका थिए । अन्जनले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरे ।
विष्टले विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह बी मा चाइनिज ताइपेइविरुद्ध गोल गरेका थिए । त्यस्तै, वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड भलिबल टीमकी कप्तान अरुणा शाहीले जितिन् ।
नेपालले बङ्गलादेशको ढाका मिरपुरमा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन्सीपको उपाधि रक्षा गर्दा उनी कप्तान थिइन् । नेपाल समूह चरणका पाँच खेल र फाइनलमा उज्बेकिस्तानलाई हराएर अपराजित यात्रासहित च्याम्पियन बनेको थियो ।