नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा दुर्घटना हुँदा रोकिएको देशभरको प्याराग्लाइडिङ उडान आजदेखि खुलेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुर्घटनापछि देशैभरको प्याराग्लाइडिङको सबैखालको उडानमा अनिश्चितकालिन रोक लगाएको थियो।
प्राधिकरणले उडान सुचारु गर्नका लागि राखेकाे विभिन्न पाँचबुदे सर्त मान्न तयार भएपछि प्रतिबन्ध खुलेको संस्थाका अध्यक्ष सुनीलबहादुर भट्टराईले जानकारी दिए।पर्यटकीय सिजनका बेला उडान प्रतिबन्ध लगाएकोमा पर्यटन व्यवसायीले असन्तोष जनाईरहेका थिए।
पोखरामा नवौं राष्ट्रिय खेलकुद चलिरहँदा अघिल्लो आइतबार त्रिभुवन आर्मीमा अनुबन्धित खेलाडी निसिम थापाले प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका। सराङकोटबाट ‘टेकअफ’ गरे लगत्तै थापा भूँइमा बजारिन पुगेका थिए। उनको तत्कालै मृत्यु भएको थियो। त्यसलगत्तै प्राधिकरणले देशैभरको प्याराग्लाइडिङका सबैखाले उडानमा रोक लगाएको थियो ।
प्राधिकरणले राखेको ती र्शतमा प्राधिकरणले व्यवसायिक रुपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यवसायिक उडान बाहेक अन्यखालका उडान गर्न नपाइने भएको छ।
त्यस्तै १५ दिनभित्र सबै पाइलटको स्वास्थ्य परीक्षण गरिने र स्वास्थ्य परीक्षणमा सफल भएमा मात्र उड्न दिइनेछ । व्यवसायिक उडानमा संलक्ष्न पाइलटले प्राधिकरणको स्वीकृतिमा सबै किसिमको पोशाक लगाउनुपर्नै र पोशाकमा पाइलट र कम्पनिको नाम लेखिनुपर्ने शर्त छ।
पाइलटले उडान गर्ने ग्लाइडरको १५ दिनभित्र प्राधिकरणका प्राविधिकबाट परीक्षण गराई योग्य पाइलटलाई मात्र उडान अनुमति दिइने पनि प्राधिकरणको सर्त छ। त्यस्तै पाइलटलाई पुनर्ताजगी तालिक दिनुपर्ने र आपतकालिन अवस्थामा टेण्डम उद्धार उपयोग गर्ने प्रयोगात्मक तालिम वर्षको एकपटक दिने उल्लेख छ।