गण्डकी प्रदेशमा भएकाे नवाैं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मीको जयरानी थारुले पाँचौं स्वर्ण जितेकी छिन् । ५ स्पर्धामा भाग लिएकी उनले सबै ५ स्पर्धामै स्वर्ण जितिन् । उनले ३ वटा स्पर्धामा त राष्ट्रिय कीर्तिमानसमेत बनाइन् ।
एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदककाे खाता खाेलेकी थिइन् ।
राष्ट्रिय खेलकुदमा सफलता मिलेपछि उनको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र देशलाई पदक दिलाउने रहेकाे बताइन्। उनले भनिन्,'स्वर्ण पदक जित्ने लक्ष्य पूरा भएको छ। अब अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो गर्ने र देशलाई पदक दिलाउने मेरा लक्ष्य छ।' जयरानीले विसं २०७२ देखि खेल्न थालेकी हुन्।
राष्ट्रिय खेलकुदमा पहिलोपटक स्वर्ण पदक जितेपछि उनले पोखरा रङ्गशालाबाट बर्दिया घरमा रहेकी आमा सुगही थारुलाई फोन गरेर आफ्नो सफलता सुनाएकी थिइन्।