नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्नुभएको हो ।
उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भनेका छन् । मैदानभित्र दुई दशक रहुन्जेल मीठो यादका रुपमा आफूसँग रहने उल्लेख गर्दै खड्काले नेपाली क्रिकेटलाई सबैले मिलेर नयाँ उचाइमा पु¥याउने विश्वाससमेत व्यक्त गरेका छन् । लामो समय नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्नुभएका खड्काले सम्पूर्ण नेपाली क्रिकेट समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय लिएको बताए ।
सन् २००२ मा १५ वर्षको हुँदा आफूले क्रिकेट यात्रा शुरु गरेको उल्लेख गर्दै खड्काले आफ्नो जीवनमा देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो उनले भने । नेपालमा क्रिकेटको विकासका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता रहेको खड्काको भनाइ छ ।
यसका लागि सबैमा इमानदारीको खाँचो भएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् । तेत्तिस वर्षीय खड्का सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । उनले सन् २०१९ सम्म कप्तानीको भूमिका निर्वाह गरे ।
खड्काले नेपालका लागि १० एकदिवसीय तथा ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । दायाँहाते ब्याटस्म्यान उनले यस क्रममा एकदिवसीयमा ३१५ रन बनाए भने टी–२० मा ७९९ रन बनाएका थिए ।
दुवै किसिमका प्रतियोगितामा उनी शतक प्रहार गर्न सफल भएका थिए । खड्काले १० एकदिवसीय खेलमा नौ विकेट लिएको थियो भने ३३ टी–२० खेलमा आठ विकेट लिएका थिए।