नेपालको अन्डर नाइन्टीन पुरुष क्रिकेट टिमलाई वाइ वाइले प्रायोजन गरेको छ ।
नेपाल क्रिकेट संघ क्यान र वाइवाइको उत्पादक चौधरी ग्रुपबीच सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पाँच वर्षका लागि सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा क्यानका अध्यक्ष चन्दले क्रिकेट क्षेत्रको बिकास र खेलाडीको मनोवल बढाउन सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले क्रिकेट क्षेत्रलाई सहि बाटोमा ल्याउन आफुहरु आत्तुर रहेको जिकिर गरे ।
त्यस्तै चौधरी ग्रुपका प्रवन्ध निर्देशक चौधरीले क्रिकेटसँग फेरि जोडिन पाउँदा आफू उत्साहित भएको बताए। सिनियर टिमका लागि अन्डर नाइन्टीन टिम भविष्य रहेकाले पनि आफूहरु सहयोगका लागि तयार रहेको उनले बताए।
वाइ वाइले यसअघि नेपालको अन्डर सिक्सिटीन टिमलाई प्रायोजन गरेको थियो । नेपाली क्रिकेट टिमलाई सन् २००५ देखि सहयोग गर्दै आएको वाइवाइले विभिन्न प्रतियोगिताहरुमा पनि प्रायोजन गर्दै आएको छ । यसैगरी अन्डर नान्टीनका इभेन्टमा पनि वाइ वाइले सहयोग गर्ने छ । सम्झौता अनुसार प्रत्येक बर्ष १० प्रतिशतका दरले रकम बृद्धि हुने पनि जनाइएको छ ।